मेची अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने
Published:
by .भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालमा स्थापना गरिन लागेको कोभिड १९ (कोरोना भाइरस) संक्रमण परीक्षणका लागि निर्माण गरिएको कक्षको झापाका प्रदेश सांसदहरूले आज अनुगमन गरेका छन् ।
उनीहरूले पिसिआर ल्याव सञ्चालनको अवस्था बारेमा शनिबार अनुगमन गरेका हुन् । प्रदेश सांसदहरुले शुक्रबार प्रदेश सरकारबाट बुझेर पिसिआर विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्ने मेसिन झापा ल्याएका थिए ।
मेची अस्पतालमा साउन दोस्रो हप्ताबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरू हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्वर ठाकुरले सांसदहरूलाई अस्पतालले गरिरहेको तयारी बारे जानकारी गराएका थिए ।
सो अवसरमा सांसदहरु बसन्त बानियाँ, झलकसिंह दर्लामी, ओमप्रकाश सरावगी, एकराज कार्की, पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले अनुगमन गरेका थिए ।
‘६ जना ल्यावको जनशक्ति तयारी अवस्थामा छन्’, मेडिकल सुपरिटेण्डेन्ट डा. ठाकुरले भने, ‘भोलिदेखि कोशी अस्पतालमा जनशक्तिलाई हेर्न र आफू तयार हुन पठाउने व्यवस्था मिलाएका छौं ।’
झापा जिल्ला प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो । स्वीस सरकारले उपलब्ध गराएका मध्ये एउटा मेसिन झापा ल्याइएको प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिए ।
अस्पताललाई प्राप्त मेसिनबाट एक पटकमा ९० वटा स्वावको परीक्षण गर्न सकिने बताइएको छ । प्रति घण्टा ९० जनाको स्वाव परीक्षण गर्ने उक्त मेसिनले समूहमा परिक्षण गर्ने हो भने एकै दिनमा झण्डै १० हजार स्वाबको परीक्षण गर्न सकिने प्राविधिकहरुले बताएका छन् ।
Comments