Sajhamanch Archive

लकडाउनः बाह्रदशीमा हट्यो, अर्जुनधारामा सुरु, बिर्तामोडमा भोलिदेखि संभावित

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by .

बाह्रदशी । स्थानीय सरकारले स्वास्थ्य सम्बन्धी आवश्यक निर्णय गर्न सक्ने अधिकार पाएपछि झापाका स्थानीय तहहरुले धमाधम निर्णय गर्न थालेका छन् । कोरोना महामारी रोकथामका लागि बाह्रदशी, अर्जुनधारा र बिर्तामोडले लकडाउनको सहारा लिन थालेका छन् ।

मध्य दक्षिण झापाको बाह्रदशी गाउँपालिकाले आजदेखि लकडाउन हटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी गाउँपालिकाले लकडाउन हटाएको हो । आज बसेको गाउँपालिकाको बैठकले संक्रमितहरुको सम्पर्कमा आएका सबै ४१ जनाको रिपार्ट नेगेटिभ आएपछि लकडाउन (बन्दाबन्दी) हटाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए ।

बाह्रदशीका एकजना नेकपाका नेता र अर्का स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबार रातिदेखि बाह्रदशीको वडा नं १, २ र ३ सिल गरिएको थियो ।

आज बिहान ५ बजेदेखि २२ गते राति १२ बजेसम्म अर्जुनधारा नगरपालिकाले लकडाउन घोषणा गरिसकेको छ । आजै रातिदेखि बिर्तामोड नगरपालिकाले पनि लकडाउन गर्ने संकेत गरेको छ ।

बिर्तामोड नगरपालिकाका एक महिला प्रहरी कोरोना संक्रमित भएको र उनी कार्यरत क्षेत्र अनि किनमेल गरेका पसलहरु सिल गरिएको जनाइएको छ । बिर्तामोडका व्यवसायी तथा राजनीतिक नेता कार्यकर्ताहरु गरी ११६ जना होम क्वारेन्टाइनमा रहेकाले आजदेखि लकडाउन गर्ने तयारी भएको नगरपालिका स्रोतले बताएको छ ।

आज अपरान्ह ३ बजे बिर्तामोड नगरपालिकामा कोरोना संक्रमण रोकथाम समितिको तर्फबाट पत्रकार सम्मेलन गरी यसबारे बिस्तृत जानकारी गराउने प्रेस संयोजक तीर्थ सिग्देलले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *