आन्दोलनविहीन वामपन्थी युवा
Published:
by .खासगरी पुँजीवादले विभिन्न मायावी रूप ग्रहण गरिराख्छ । त्यसक्रममा पछिल्लो कालमा हामीकहाँ पनि पुँजीवादको नवउदारवादी स्वरूपले प्रवेश गर्यो । विशेषगरी, ५०को दशकसँगै पालैपालो सरकारको नेतृत्व गरेका कांग्रेस, एमालेले विश्वको पछिल्लो ट्रेन्ड यही हो भन्दै नवउदारवादको नीतिलाई सहज रूपमा अँगाल्न पुगे । माओवादी आन्दोलन यसैको विकल्प दिन सुरु भएको थियो । समयक्रममा यो पनि नवउदारवादकै अँध्यारो सुरुङमा विलुप्त भयो । त्यसयता आजसम्म जे–जति परिवर्तन भए, सरकार फेरिए, उनीहरूले नवउदारवादसँग सम्बन्ध विच्छेद गर्नै सकेनन् । बरु सबै सरकारले निरन्तर नवउदारवादलाई फलाउने–फुलाउने अनुकूलको काम मात्रै गरिरहे ।
नवउदारवादको मुख्य चरित्र के हो भने यसले तेस्रो विश्वका देशमा प्रवेश गरेपछि वामपन्थी र समाजवादी आन्दोलनलाई शत्रु ठानेर मुख्य तारो बनाउँछ । त्यसपछि क्रमशः प्रतिरोध गर्न सक्ने सबैखाले आन्दोलनलाई त्यसले समाप्त पारिदिन्छ । परिणामस्वरूप सामाजिक आन्दोलनको ठाउँमा एनजिओ–आइएनजिओ देखा पर्न थाल्छन् । त्यसले सामाजिक आन्दोलन र संस्थालाई प्रतिस्थापन गर्छ । लड्ने क्षमता भएका संस्था र समूहलाई झन्झन् कमजोर बनाउने र समाप्तिको अवस्थासम्म पुर्याउने त नवउदारवादको आमचरित्रै हो ।
अहिले करिब–करिब विकसित देश नवउदारवादकै कारण निकै ठूलो संकटको भूमरीमा परेका छन् भने हाम्रो मुलुक पनि त्यसैको चपेटामा परेकाले समस्या बढ्दै छ । यसले गर्दा ‘सेन्टर लेफ्ट’ शक्तिहरू क्रान्तिकारी बाटो हिँड्न सक्ने त कुरै भएन, बरु उनीहरू जनताको आधारभूत मुद्दामा पनि बोल्न नसक्ने अवस्थामा छन् । उनीहरूको धरातल मजदुर, सुकुम्बासी भएकाले चुनाव आउँदा उनीहरूलाई सम्झिएर नारा तय गर्छन् । पाँच वर्षमा हुने चुनावी घोषणापत्रमा मजदुर, किसानका हितका पक्षमा अनेक कुरा लेख्छन्, तर चुनाव सकिएपछि उनीहरू कर्पोरेट हाउस र ठूला व्यापारिक घराना, बिचौलियाको सेवामा लीन हुन्छन् । अहिले हामीकहाँ देखिएको परिदृश्य ठ्याक्कै यही हो । हाम्रै पार्टीको चरित्र पनि झन्डै यही हो भन्दा अन्यथा मानिनेछैन ।
जनताको चेतनास्तरलाई हेर्ने हो भने त्यहाँ लामो समयदेखि कम्युनिस्टको प्रभाव छ । जहाँ कम्युनिस्ट पार्टीको प्रभाव घनीभूत रहन्छ, त्यहाँ नयाँ विचारले पालुवा हाल्न पाउँदैन । यो कम्युनिस्टका निम्ति ठूलै चुनौतीको विषय हो । जहाँ कम्युनिस्ट पार्टी हावी छैनन्, त्यस्ता मुलुकमा बरु समाजवादी विचारधारात्मक सवालमा थोरै भए पनि काम भएको छ । त्यसको विपरीत जहाँ कम्युनिस्ट र मजदुर, किसानको ठूलो पंक्ति छ, त्यहाँ वैचारिक कामै नहुने परिस्थिति देखिएको छ ।
किनभने, कम्युनिस्ट पार्टी छँदैछ भन्ने मनोविज्ञानले सबैलाई परनिर्भर बनाएको हुन्छ । हाम्रो देशमा कम्युनिस्टको प्रभाव भएकै कारण खास गरेर किसान, मजदुर, युवा, विद्यार्थीको ठूलो तप्कालाई संगठनात्मक र वैचारिक रूपमै कुँज्याइयो । जसले गर्दा उनीहरूले स्वतस्फूर्त रूपमा गर्ने प्रतिरोधी क्षमता पनि गुमाउँदै गए । अर्थात्, कम्युनिस्ट पार्टीले जनतामा रहेको जुझारुपनलाई नै समाप्त पारिदियो । परिणामस्वरूप नेपालमा के देखिन थाल्यो भने किसानलाई मर्का पर्यो भने उनीहरू दूध बगाउन तयार हुन्छन्, तर प्रतिरोध गर्न तयार हुँदैनन् । यो अवस्था युवाको हकमा पनि लागू हुन्छ र विद्यार्थीको हकमा पनि ।
कम्युनिस्ट पार्टीमा आबद्ध चाहे त्यो युवा होस्, चाहे विद्यार्थी, किसान, मजदुर नै किन नहोस्, त्यो शक्तिले बितेका १५–२० वर्षमा कुनै ठूलो आन्दोलन नै गरेको छैन । कम्युनिस्ट पार्टीले पनि आफ्ना जनसंगठनलाई पाँच वर्षमा एकपटक प्रयोग गर्ने औजारका रूपमा प्रयोग गर्न थाले । अन्ततः उनीहरू समाज बदल्ने अग्रदस्ताको भूमिकाबाट अनुहारविहीन मतदातामा परिणत हुन पुगे । आजको युवाको वास्तविक अनुहार पनि यही हो । नेकपाका नेता–कार्यकर्ता केवल मतदानका एजेन्टमा सीमित हुन पुगेका छन् । कम्युनिस्ट क्याडरहरू खानेपानी, वन, विद्यालय र अस्पताल सञ्चालक समितिमा हावी त भए, तर त्यहाँ हावी भएसँगै उनीहरूमा रहेको जुझारुपन पनि उनीहरूले त्यतै कतै विसर्जन गरिदिए ।
यस्तोमा अझै हाम्रो पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको स्वाङ रच्छ । तर, लेनिनको संगठनात्मक सिद्धान्त उनको राजनीतिक, सांस्कृतिक र आर्थिक सिद्धान्तसँग अविभाज्य छ भन्ने उसले बिर्सिसकेको छ । लेनिनको समग्र आत्मालाई छोडिदिएर भित्तामा झुन्ड्याइएको लेनिनको तस्बिरले समाजलाई कति उद्वेलित गर्न सक्ला ? समाजमा त्यसले कति प्रभाव विस्तार गर्न सक्ला अथवा भनौँ पुँजीवादविरुद्धको संघर्षमा त्यसले कत्तिको प्रभावकारी भूमिका निर्वाह गर्न सक्ला ? यही प्रश्न आजका युवाको हकमा पनि लागू हुन्छ ।
समाजमा कम्युनिस्ट पार्टीको यो स्तरको बोलवाला छ, संगठनमा उसले यो स्तरको पकड कायम गरेको छ कि सातमध्ये ६ प्रदेशमा उसले आफ्नै नेतृत्वको सरकार सञ्चालन गरिरहेको छ । देशैभरका युवा, कम्युनिस्ट पार्टीमा आबद्ध छन् । यसरी जुझारुपन सकिदिने र वैचारिक कुँजोपन विकास गरिदिने खालको दुर्भाग्यपूर्ण अवस्थामा उभिएका युवासँग हामी के अपेक्षा गर्न सक्छौँ ? यति भइसकेपछि नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तर कहाँ छ भन्ने थप दृष्टान्त दिइरहनु पर्छ र ? यद्यपि, आशा गर्ने ठाउँ जहिले पनि जीवित रहन्छ ।
हामी यो पार्टीलाई ब्युँताउने, प्राण भर्ने, वैचारिक, राजनीतिक मुद्दालाई संघर्षशील बनाउने सोचमा छौँ । अहिलेका विवादलाई वैचारिक चरणमा पुर्याउने प्रयासमा छौँ । तर, सफल हुन्छौँ कि असफल, अहिले नै भन्न सक्ने अवस्था छैन । यो वैचारिक लडाइँमा हामी पार्टीभित्र असफल भयौँ भने यस मुद्दालाई लिएर बाहिरबाट भए पनि विद्रोह हुन सक्छ । किनभने, अनुहारसहितको विकल्प नदेखिँदा अनुहारविहीन विकल्प आउन सक्छ । यसै आलोकमा उभिएर के भन्न सकिन्छ भने राजनीतिभन्दा बाहिर पुगेर खडा भएका वैकल्पिक शक्तिको भविष्य पनि त्यति उज्यालो छैन । यसको ज्वलन्त उदाहरण भारत हो, जहाँ कांग्रेस र बिजेपीको विकल्पमा दुई–चारजना डिग्रीधारी त उभिए, तर कालान्तरमा उनीहरूबाट पनि नहुने रहेछ भनेर देखियो ।
अन्ततः अन्ना हजारेको नैतिक साधकलाई अगाडि ल्याएर आम आदमी पार्टीले कंग्रेस र बिजेपीको गढलाई भताभुंग बनाइदियो । यसले पनि देखिन्छ कि नैतिक बल मात्र त्यो बल हो, जसले धन–बललाई पछार्न सक्छ । त्यो नैतिक बल गुमाएका हाम्रा नेताहरू आज असहाय देखा परेका छन् । त्यसैले हामी नैतिक बल भएकालाई अघिल्लो पंक्तिमा राखेर यही पार्टीलाई वैचारिक र सांगठनिक रूपले बलियो बनाएर अगाडि बढाउन चाहन्छौँ, जहाँ वास्तविक युवाहरूले नेतृत्व लिऊन् । हामीलाई लाग्छ, त्यस्तो वैचारिक राजनीतिक संघर्षलाई साथ दिनेको संख्या उल्लेख्य छ । हाम्रो संघर्षले हामीलाई तत्काल प्रधानमन्त्री वा राष्ट्रपति बनाउन नसक्ला, तर वैचारिक ढंगले संघर्ष अघि बढाउन भने त्यो पर्याप्त हुनेछ । हामी असफल भयौँ भने हाम्रो असफलताको चिहानमा उभिएर प्रतिगामी र दक्षिणपन्थी शक्तिले आफ्नो पखेटा फिजाउनेछ ।
जनताको बेचैनीलाई सबैले अनुभव गरेका छन् । पत्रपत्रिकामा दैनिक त्यस्ता समाचार आइरहेका हुन्छन्, जसले हरेकलाई उद्वेलित बनाइरहेको छ । गलत व्यक्तिलाई पोषिएको र इमानदार व्यक्तिलाई दण्डित गरिएको वर्तमान अवस्थामा हाम्रो असफलताले धेरै दिनसम्म निराशालाई आक्रोशमा फेरिनबाट रोक्न सक्नेछैन । किनभने, समाज विकल्परहित कहिल्यै पनि रहँदैन । प्रगतिशील विकल्प भित्रबाट दिन सकिएन भने यसको विकल्पमा अर्को विकल्प बाहिरबाटै भए पनि जन्मन्छ । यसको अनुमान २०६४ मा ह्वात्तै अगाडि आएको माओवादी पार्टीको उत्थान र पतनको इतिहासबाट पनि लगाउन सकिन्छ । माओवादी पार्टी त्यतिबेला निर्वाचन जितेर आएको थियो, जतिबेला उसले कतै पनि पुल–पुलेसा, बाटो, पोखरी बनाएको थिएन ।
तर पनि एमाले, कांग्रेसकै मतदाताले माओवादीलाई निर्वाचन जिताएर अगाडि ल्याइदिए । जनताको त्यो अपेक्षा पूरा गर्न नसकेको माओवादीलाई अर्कोपटक उनीहरूले चुनेनन् । भन्नुको अर्थ के भने जनताले विकल्प खोजिरहेका हुन्छन् । अहिलेको अवस्था माओवादीसँग मोह भंग हुँदा एमालेलाई चुन्ने र एमालेसँग मोह भंग हुँदा माओवादीलाई चुन्नेजस्तो छैन । यतिबेला जनताले विकल्प रोज्नुपरेमा अर्कैतिर जान सक्ने सम्भावना छ ।
यस्तो बेथिति निर्बाध चलेको देख्दा नेपालमा युवापुस्ता नै छैन कि भन्ने भान हुन्छ । तर कुरा त्यस्तो भने होइन । नेपालीमा एउटा उखान छ– तातो दूधले मुख पोलेको बिरालोले मोही पनि फुकेर खान्छ । आन्दोलनका नेताहरूबाट पटक–पटक ठगिएकाले युवाहरू हतपती कसैलाई विश्वास नगर्ने अवस्थामा छन् । तर, उनीहरूको धैर्यको बाँध भत्केको दिन सिद्धान्त र नेताको अभावमा पनि युवपुस्ता यो अवस्थालाई समाप्त पार्न अघि आउनेछ ।
अब कम्युनिस्ट पार्टीले ५० वर्षसम्म विकासको रणनीति र कार्यक्रम बनाउनुपर्ने हुन्छ । त्यसभन्दा पनि महत्वपूर्ण कुरा कम्युनिस्ट पार्टीले कम्युनिस्ट कार्यदिशा अख्तियार गर्नुपर्छ । नवउदारवादी पुँजीवादी कार्यदिशा बोकेर समाजवादको यात्रा असम्भव छ । कार्यदिशा निर्माण गर्दा यो पनि हेक्का राख्नुपर्छ लेनिनको जस्तो एकदलीय सत्ता, हिंसामा आधारित क्रान्ति हुँदैन भने त्यसको विकल्प दिन सक्नुपर्छ । हिजो लेनिन र माओको विकल्प भनेर जुन विकल्प अघि सारियो, त्यो प्रजातान्त्रिक समाजवादभन्दा कुनै पनि मानेमा नयाँ थिएन ।
त्यो फेबियन समाजवादकै नेपाली संस्करण थियो । अब हामीले सर्वाहाराको अधिनायकत्व लागू नगर्ने, एकदलीय शासन नचलाउने हो भने पनि उत्पीडित वर्गको राजनीतिक, सांस्कृतिक र आर्थिक वर्चस्व कायम राखिरहने नयाँ बाटो खोज्नैपर्छ । हामीले नयाँ आर्थिक, राजनीतिक, सांस्कृतिक सिद्धान्तलाई अगाडि सार्नैपर्ने हुन्छ । नेपालका निम्ति ल्याइएको त्यस्ता सिद्धान्तलाई अन्य मुलुकले पनि अनुकरण गर्न सक्छन्, जसरी हामीले विश्वबाट सिकिरहेका हुन्छौँ । नेपालका कम्युनिस्ट र युवाको आजको मुख्य चुनौती नै यही हो ।
हामी र हाम्रो अग्रज पुस्ताले सामन्तवादका विरुद्ध सानदार ढंगले संघर्ष गर्यो, तर पुँजीवादसँग आमनेसामने भएपछि हाम्रो नेतृत्वको ठूलो अंश पुँजीवादबाट प्रदूषित बन्न पुग्यो । यस्ता प्रदूषितहरूले पुँजीवादका विरुद्ध लड्न सक्ने कुरै भएन । त्यसैले युवापुस्ताले यो अजंगको पुँजीवादसँग यसरी नै सानदार ढंगले लडाइँ लड्नुपर्छ, जसरी हिजोको पुस्ताले सामन्तवादका विरुद्ध लडाइँ लडेको थियो ।
हाम्रो पुस्ताले युवासमक्ष यो सत्यलाई कबुल्नैपर्छ कि पुँजीवादसँगको लडाइँमा हामी कमजोर साबित भयौँ । युवालाई भन्नुपर्छ कि तिम्रा अगाडि पुँजीवादसँग लड्ने चुनौती तेर्सिएको छ । सम्पूर्ण सामाथ्र्यका साथ पुँजीवादलाई धुलिसात पार्ने महायज्ञमा सामेल होऊ । अन्यथा, पुँजीवादले मान्छे र मान्छेको संसारलाई समाप्त पारिदिनेछ । नेपालका कम्युनिस्ट र युवाको आजको मुख्य चुनौती नै यही हो ।
नयाँपत्रिकाबाट
(लेखक झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।)
Comments