Sajhamanch Archive

चिया उद्योग सञ्चालन गर्ने तयारीमा एनएमसी झापा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, सहकारी by .

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुव्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो ।

मेचीनगर वडा नं. ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र एनएमसीबीच एकीकरण भएपछि संस्थाले चिया प्रशोधन उद्योग सञ्चालन गर्ने गरी कार्ययोजना बनाएको हो ।

२०६६ सालमा समूह हुँदै सहकारी संस्थामा रूपान्तरित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले १ करोड १६ लाखको लागतमा ग्रिन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण सुरु गरेको थियो । चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागबाट ६९ लाख ९० हजार अनुदानसमेत प्राप्त भएको थियो ।

दुई सहकारी संस्थाहरूबीच एकता भएसँगै यस आर्थिक वर्षबाट हरियो पत्ती प्रशोधन गरी तयारी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको चिया उद्योगका संयोजक दिलीप सुब्बाले जानकारी दिएका छन्।

“कारखानामा सम्पूर्ण मेसिन आइसकेको छ” संयोजक सुब्बाले भने “अब प्राविधिक झिकाएर मेसिन सेटल गर्न र केही संरचना निर्माण गर्न बाँकी छ । त्यसको लागत इस्टिमेट पनि तयार हुँदैछ । लागत इस्टिमेट तयार भएपछि चाँडै निर्माणका सम्पूर्ण काम पूरा गरेर आगामी फागुनदेखि प्रशोधन सुरु गर्छौँ ।”

सहकारीले उद्योग परिसरमा कार्यालय, गेट, सुरक्षागार्ड कक्ष, कम्पाउण्डवाल तथा शौचालय निर्माणको काम भदौको दोस्रो सातबाट सुरुगर्ने कर्पोरेट प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेलले जानकारी दिएका छन् । हरियो चिया पत्ती र तयारी चियाको लागि सधैँ उचित बजार मूल्यको लडाइँ लड्दै आएका चिया किसान एनएमसीले चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याउने भएपछि उचित मूल्य पाइने कुरामा आशावादी देखिएका विभागीय प्रमुख पौडेलले बताएका छन् ।

स्थापनाको सुरुमा बैङ्किङ व्यवसाय मात्र गर्दै आएको संस्थाले २०७२ सालबाट बहुव्यवसायको रूपमा फड्को मार्दै आएको छ । संस्थाले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको सञ्चालकहरुको दावी छ ।

सहकारी संस्थाले बैङ्किङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल सुरु गरिसकेको छ । संस्थाले पाँचौँ व्यवसायको रूपमा चिया उद्योग सञ्चालन गरी अर्थोडक्स र ग्रिन टी उत्पादन कार्य छिट्टै सुरु हुने सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताएका छन् । “हामी सधैँ सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्दै आएका छौँ । आगामी दिनमा थप व्यवसायसमेतको योजना बनाउने छौँ” अध्यक्ष उप्रेतीले भने “सदस्यहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम हाम्रो सहकारीको अवधारणा हो ।”

चिया प्रशोधन तथा बाँकी संरचना निर्माणको लागि सहकारीले यस आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको र भदौ दोस्रो साताबाट निर्माणको कामलाई तीव्रता दिइने अध्यक्ष उप्रेतीको भनाई छ । सुरुमा अर्थोडक्स र ग्रिन टी उत्पादन गर्ने अनि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन जारी राख्ने अध्यक्ष उप्रेतीले बताए ।

सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न चालू आर्थिक वर्षका लागि लगानी सीमा समेत निर्धारण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार बैङ्किङ व्यवसायतर्फ ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ २५ करोड, सहकारी पसल व्यवसायमा २५ करोड र चिया प्रशोधन व्यवसायमा ५ करोड लगानी सीमा निर्धारण गरेको छ ।

मेचीआवाजबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *