मेची सहकारीले १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरक्षित पुँजी कोष दिने
Published:
by .दमक । झापामा सहकारी संस्थाहरुले साधारणसभाको औपचारिक प्रक्रिया शुरु गरेका छन् । दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आज २६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेर साधारणसभा प्रक्रिया शुरु गरेको हो ।
सो संस्थाले आजदेखि १५ दिनसम्म साधारणसभाका विभिन्न प्रक्रियाहरु सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरेर अवगत गराएको हो । संस्थाले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि वार्षिकोत्सवसहित साधारणसभाका विविध कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । यद्यपी कोरोना भाइरस संक्रमणको त्रासले भब्य औपचारिक कार्यक्रमहरु चाहिँ नगरिने अध्यक्ष नारायणप्रसाद भट्टराईले पत्रकारहरुमाझ सुनाए ।
संस्थाले आज प्रतिवेदन सार्वजनिक गरेपछि भदौ २ गतेसम्म कार्यक्षेत्रका विभिन्न सात स्थानमा प्रतिवेदन वितरण क्याम्प सञ्चालन गरिने व्यवस्थापक खोम बगाले थापाले बताए । सेयर सदस्यहरु भौतिक दूरीको ख्याल गरी प्रतिवेदन वितरण क्याम्पमा आएर प्रतिवेदन बुझेर लैजाने र भदौ १० गतेभित्र प्रतिवेदनउपर जिज्ञासा, सुझाव, टिप्पणी बुझाउनुपर्ने व्यवस्थासहित साधारणसभालाई नयाँ विधिबाट सञ्चालन गरिएको अध्यक्ष भट्टराईले प्रष्ट पारेका छन् ।
संस्थाले आगामी भदौ ११ गते रक्तदान, नेत्रदान र शरीर दान कार्यक्रमलाई निरन्तरता दिने तथा स्वास्थ्य अनुकुलता भएमा भदौ १२ गते पुरस्कार वितरणसहित साधारणसभाको औपचारिक कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । प्रतिवेदन उपर प्रतिक्रिया जनाउने सेयर सदस्यहरु, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिहरु, क्षेत्रीय सम्पर्क उपसमितिका सदस्य पदाधिकारीहरुको उपस्थितिमा भदौ १२ गते साधारणसभा गर्ने संस्थाले आज पत्रकारहरुलाई जानकारी दिएको हो ।
संस्थाका प्रमुख नीति र कार्यक्रमहरु
मेची सहकारी संस्थाले गतवर्ष घोषणा गरेको सहकारी अवास निर्माण कार्य कोरोना महामारीका कारण रोकिएकोमा चालू वर्ष सुरु गर्ने, झापा–मोरङ र इलामका विभिन्न स्थानमा संस्थाको सेवाकेन्द्र विस्तार गर्ने, विशिष्टीकृत सहकारी संघमा आवद्धता जनाउने, सदस्य तथा कर्मचारीको सेवा सुविधामा विस्तार गर्ने आदि नीति तथा कार्यक्रमहरुका बारेमा अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
संस्थाले अहिलेसम्म वातावरण र पर्यावरण संरक्षणमा रबर खेती, बाल उद्यान, नौकाविहार, पिकनिक स्पोट, माछापालन लगायतका काम गरिसकेको जनाइएको छ । यस बाहेक सामाजिक लोक कल्याणकारी कार्य, समस्यामा परेका नागरिकको सहयोग क्षेत्रमा समेत काम गरिसकेको जानकारी दिइएको छ । संस्थाले नाफामुखीभन्दा सदस्य र समुदायको सेवामुखी भएर काम गर्ने नीति लिएको अध्यक्ष भट्टराईको भनाई छ ।
संस्थाको वित्तीय झलक
संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले संस्थाको आर्थिक कारोबार समेटेर तयार गरिएको प्रतिवेदन प्रस्तुत गर्दै दुईवटा सहकारीसँग एकीकरण समेत भएकाले वित्तीय कारोबारमा उल्लेख्य प्रगति भएको जनाए । व्यवस्थापक बगालेका अनुसार गत आर्थिक वर्षभन्दा ४९ दशमलव ६७ प्रतिशत वृद्धि भई शेयर पुँजी २१ करोड ७८ लाख ३२ हजार ५०० रुपैयाँ पुर्याइएको छ । साथै आर्थिक वर्ष २०७८/०७९ मा ३० करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरिएको छ । सस्थामा हाल ५ हजार ७७६ जना शेयर सदस्य रहेका छन् भने यसवर्ष कम्तीमा दुई हजार जना सदस्य थप गर्ने कार्यक्रम बनाएको छ ।
संस्थामा निक्षेप तथा बचतमा ३८ दशमलव ६२ प्रतिशतले वद्धि भई एक अर्ब ४१ करोड ३७ लाख ७८ हजार रुपैयाँ पुर्याइएको छ । जुन संस्थाको लक्ष्यभन्दा धेरै निक्षेप संकलन भएको हो । कोरोना भाइरसको त्रासले सरकारले गरेको लामो लकडाउनका कारण कर्जा लगानीमा भने लक्ष्य भेट्टाउन नसकिएको व्यवस्थापक बगालेले जनाएका छन् । उनका अनुसार गत आर्थिक वर्षभन्दा २६ दशमलव ६५ प्रतिशत वद्धि भई एक अर्ब ५२ करोड ९२ लाख २८ हजार लगानी हुँदा पनि लक्ष्य भेट्टाउन नसकेको हो ।
संस्थाले समीक्षा अवधिमा एक अर्ब ९३ करोड ३९ लाख ४१ हजार ९५९ रुपैयाँको वासलात बनाएको छ भने चालू वर्षका लागि दुई अर्बभन्दा माथिको अंक पुर्याउने लक्ष्य पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेची सहकारीले गत आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार ५१७ रुपैया खुद मुनाफा गरेको छ भने चालू वर्ष नौ करोड दुई लाख कमाउने प्रक्षेपण गरेको छ । को जनाए ।
मेची सहकारीले आयकर वापत ३२ लाख १० हजार ९६७ रुपैयाँ, ब्याज करवापत ५३ लाख ४७ हजार ३५८ रुपैयाँ, कर्मचारी पारिश्रमिक कर वापत २ लाख ५४ हजार २५३ रुपैयाँ, सञ्चालक समिति बैठक भत्ता कर एक लाख ६५ हजार ३७५ रुपैयाँ र साधारणसभाको पारिश्रमिक कर वापत ४ लाख ७६ हजार ७०० रुपैयाँ गरी ९४ लाख ५४ हजार ६५३ रुपैयाँ राज्यलाई कर राजश्व बुझाएको छ ।
यस वर्षदेखि संस्थाले विपद बचत योजन सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको छ । समीक्षा अवधिमा शेयर सदस्यले १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरिक्षत पूँजी फिर्ता कोषबाट सुविधा पाउने प्रस्ताव गरिएको छ । कोरोना महामारीका कारण शेयर सदस्यहरुको वित्तीय कारोबार सिथिल भएको महसुुस गरी मेची सहकारीले आगामी चैत ९ गतेसम्म अपुग किस्तामा कुनै किसिमको हर्जाना नलाग्ने गरी कर्जाको समयावधि स्वतः एक वर्ष लम्बाएको जनाएको छ ।
सम्मान र पुरस्कार
विगत वर्षहरुमा प्रदान गर्दै आएको सम्मान र पुरस्कारका कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको छ । कोरोना भाइरसको कारण भदौ १२ गते गरिँदै आएको भब्य कार्यक्रम नहुने भएपछि उपयुक्त समयमा पुरस्कार र सम्मान हस्तान्तरण गरिने बताइएको छ ।
घोषणा गरिएअनुसार संस्थाले पूर्वअध्यक्ष स्व. गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापना गरेको स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कार राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई प्रदान गरिनेछ । पुरस्कारको नगद राशि ३० हजार रुपैयाँ रहेको छ । यसैगरी, १० हजार रुपैयाँ राशिको स्व. गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार सप्तरङ्गी एफएमका म्यानेजिङ डाइरेक्टर गिरीराज भट्टराईलाई दिइने भएको छ ।
यो वर्ष मेची सहकारी पुरस्कार उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मालाई र मेची सञ्चार गृह पुरस्कार बिर्तामोडको साझामञ्च मिडिया प्रालिलाई प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको हो ।
Comments