Sajhamanch Archive

स्वास्थ्य सेवामा चरम राजनीतिः भद्रपुरमा अस्पताल बन्द गर्न कांग्रेसको माग, कनकाईको सेवा सञ्चालनमा सत्तारुढको रोकावट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

झापा । कोरोना संक्रमण दिन प्रतिदिन फैलिइरहेको छ । चुनावमा उम्मेदवारले मत प्राप्त गरे जसरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हरेक दिन संक्रमितको संख्या र मृत्यु हुनेको ठेगाना बाचन गरिरहेका छन् । सरकार संक्रमण रोक्न लकडाउन र कफ्र्युको सहारा लिन्छ । तर भुसको आगो जसरी कोरोना संक्रमण बढेको बढ्यै छ ।

अर्कोतिर स्वास्थ्य उपचारमा चरम लापरवाही एवम् राजनीति बढ्दै गएको छ । कोरोना फैलने डरले अस्पतालमा सेवा थप गर्न नदिन आन्दोलन गर्नेमात्र होइन हजारौं नेपाली मनकारीको सद्भाव रहेको कोरोना परीक्षण ल्याव सञ्चालन नगरेर सत्ताधारी र प्रतिपक्षी दलले सम्वेदनहीन काम गरिरहेका छन् ।

कोरोना संक्रमित भएको आशंकामा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरेपछि रिपोर्ट आउन अहिले ४–५ दिन लाग्छ । छिटो छरितो सेवा पाइनेआशामा कनकाई नगरपालिकाको कोटीहोममा मनकारीहरुबाट संकलित रकमबाट स्थापना गरिएको पिसिआर ल्याव सेटअप भएको करिब एक महिना भयो ।

मेची प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याउने गरी सहमति भएको दुई साता भयो तर अझै सुरु भएको पाइन्न । प्रदेश १ का मुख्यमन्त्रीले दुई दिनभित्रमा सेवा सञ्चालनमा ल्याउने वचन दिएको आज पाँचौं दिन हो, तर अझै पिसिआर परीक्षणको सेवा सुरु भएको छैन । सत्तारुढ दलका कतिपय नेताहरुको असहयोगका कारण पिसिआर ल्याव सञ्चालनमा नआएको आम बुझाई छ ।

भद्रपुरस्थित मेची अस्पतालमा स्थापित कोभिड–१९ उपचार केन्द्र अन्यत्रै सार्न माग राखेर नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले प्रधानमन्त्री तथा प्रदेश १ कार्यालयलाई ज्ञापनपत्र पठाउँदै अर्को राजनीति सुरु गरेको छ । मेची अस्पतालमा कोरोना उपचार केन्द्र राखिएपछि रोग सर्ने त्रासले सर्वसाधारण आउन नसकेको जिकिर गर्दै काँग्रेसले कोभिड १९ को उपचार केन्द्र अन्यत्र व्यवस्थापन गर्न झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरमार्फत ज्ञापनपत्र पठाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सम्बोधन गरेको ज्ञापनपत्र प्रजिअ रानामार्फत् पठाइएको हो । कांग्रेस ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा विपन्न वर्गको उपचार गर्ने सरकारी अस्पताल भित्र कोरोना उपचार केन्द्र राखिएपछि हजारौं नागरिक कोरोना संक्रमण त्रासका कारण सेवा लिन आउन नसकेको जिकिर गरिएको छ ।

एउटै भवन, एउटै प्रवेशद्वार, पुरानो तथा साँघुरो उपचार कक्ष भएको अस्पताल परिसरमा कोभिड १९ रोगीसमेत राखेर उपचार गरिँदा समुदायमा कोरोना फैलन गई भयावह हुने हुँदा व्यवस्थित उपचार केन्द्र निर्माण गरी अन्यत्रै स्थान्तरण गरेर सर्वसाधारणले अञ्चल अस्पतालमा उपचारका लागि निर्ढुक्क भइ उपचार लिन आउन सक्ने वातावरण निर्माण गरिदिन कांग्रेसको माग छ ।

भद्रपुर अस्पतालमा भर्खरै सुरु भएको कोरोना उपचार सेवा रोक्न कांग्रेसका नेताहरुको खुल्लम खुल्ला माग गर्नु जति नाजायज छ उत्ति नै कोटीहोमस्थित समर्पण भवनमा स्थापित पिसिआर ल्याव सञ्चालनमा ल्याउन रोक्नेहरुको राजनीतिक तृष्णा घृणायोग्य छ । वैश्विक महामारीबाट मान्छेहरु भटाभट मरिरहेको अवस्थामा स्वास्थ्य क्षेत्रमा राजनीति गर्नु जनता माथि राजनीतिक नेतृत्वको बेइमानी हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *