‘परिवर्तनका पाइलाहरु’ लोकार्पित
Published:
by .झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पार्टी भित्र एकता, सहकार्य र सद्भावमा ह्रास हुँदै गएको टिप्पणी गरेका छन् । कम्युनिष्ट आन्दोलनकी अग्रणी महिला स्व. लीला कट्टेलको नाममा स्थापित लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘परिवर्तनका पाइलाहरु’ नामक पुस्तक लोकार्पणमा बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले यस्तो बताएका हुन् ।
पहिले–पहिले कमरेडहरुमा एकता, सद्भाव र समर्पणको भावना धेरै भएपनि अहिले खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको भन्दै मन्त्री घिमिरेले परिवर्तनलाई संस्थागत गर्न आपसी एकता र सद्भाव अपरिहार्य रहेको बताए । पार्टीमा अवसर मात्र खोज्ने प्रवृत्ति बढ्दै गएकोमा रोष प्रकट गर्दै उनले समर्पण भावनाको विकास हुन जरुरी रहेको बताए ।
लीला कट्टेल स्मृति प्रतिष्ठानका अध्यक्ष पवित्रा निरौला खरेलको अध्यक्षतामा आयोजित पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षीय मन्तब्य राख्दै उनले पुस्तकमा झापाका महिला जनप्रतिनिधिहरुको विवरण समेटिएको जानकारी गराइन् ।मुलुकमा भएका राजनीतिक आन्दोलन र क्रान्तिमा होमिएकी स्व. कट्टेल गुमनाम बन्दै गएको ठहर गरी प्रतिष्ठान गठन गरी उनको योगदानलाई चीर स्थायी बनाउन प्रयास थालिएको अध्यक्ष निरौलाको भनाई छ ।
परिवर्तनका पाइलाहरुमा झापाका २८५ जना महिला जनप्रतिनिधिको व्यक्तिगत विवरण समावेश गरिएको छ । उक्त पुस्तकमा झापाका गाउँपालिका र नगरपालिकामा निर्वाचित महिला प्रमुख र उपप्रमुखहरुको संघर्षका कथाहरु समेटिएको छ ।
झापा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य खरेलले ‘राजनीतिक परिवर्तनका लागि भूमिगत हुने कट्टेल पहिलो नारीका रुपमा रहेको चिनाउँदै उनले नेपाली जनताको मुक्तिका लागि गरेको योगदान अतुलनीय रहेको बताइन् ।
२०२५ सालदेखि २०३० सालसम्म समाजमा व्याप्त अन्याय, अत्याचार र शोषण दमनको विरुद्ध जनतालाई जागृत र संगठित गर्ने आन्दोलनमा सक्रिय बनेकी स्वर्गीय कट्टेल २०३० साउन २१ गते पञ्चायती शासकहरुको दमन उत्पीडनको क्रममा गिरफ्तार बनेकी थिइन् । ३ वर्षको काराबास जीवनपछि २०३३ साउन २१ गते रिहा भएकी थिइन् । जेल जीवनपछि कारावास कै क्रममा चिनजान भई प्रेम सम्बन्ध जोडिएका झापा संघर्षकै योद्धा श्रीराम गिरीसँग लीलाको विवाह भएको थियो ।
कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, नेकपाका केन्द्रीय सदस्य नरेश खरेल, प्रदेश सांसद् झलकसिंह दर्लामी, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, पत्रकार गणेश पोखरेल र सन्तोष आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले गरेकी थिइन् ।
Comments