भद्रपुरका सडक किनाराका नाली पुरिएर बाटोमा पानी कुद्छ
Published: (Updated: )
by .भद्रपुर । नियमित सरसफाई व्यवस्थापन नगर्दा भद्रपुर नगर क्षेत्रका अधिकांश सडक किनारामा बनाइएको ड्रेन माटो र झाडीले पुरिएर पानीको निकास रोकिने गरेको छ । नाली सरसफाई नहुँदा सडकमा नै पानी जम्ने गरेको छ । तर नगर सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन ।
सडक नाली सफाइका लागि विगतमा नगरपालिकाले रकम विनियोजन गर्ने गरेको थियो तर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि संयुक्त कार्यक्रम बनाउन थालिएकोमा लामो समयदेखि नाली सफाई भएको छैन । ‘वडागत रूपमा बाँडेर रोजगार कार्यक्रममा नियुक्त गरिएका कामदारले गनेरै ९० दिन बिताएका भए पनि नगर क्षेत्रको विकासमा कुनै उल्लेख्य काम नगरेका’ स्थानीय एक जानकारले दावी गरेका छन् ।
ती जानकारले दिएको सूचनालाई आधारमानी स्थलगत अवलोकन गर्दा उनको दावी सत्य सावित रहेको पाइएको हो । सडकबाट नालीमा पसेको माटो जस्ताको तस्तै रहँदा वर्षातको पानी सडकबाटै बग्ने गरेकोले ठाउँठाउँमा पक्की सडकसमेत भत्कने अवस्थामा पुगेको देखिएको छ । कालोपत्रे सडक किनारमा पलाएको झाडी नफाँडिएको कारण सडक हो कि घाँसे मैदान छुट्याउन मुस्किल छ ।
तीन महिनाका लागि नियुक्ति पाएका प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले स्थानीय तहको विकासका लागि कुनै महत्वपूर्ण योगदान दिन नसकेको स्थानीयको बुझाई छ ।
सडक किनारामा पलाएको झाडीले रात विरात हिँड्दा सर्पको त्रास भएपछि वडा कार्यालय, नगर प्रशासन गुहार्दासमेत बजेट नभएकोले प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई सडक सफाई गर्न लगाएको जवाफ आउने गरेको छ ।
Comments