लकडाउनमा पनि संजिवनी साकोसको वित्तीय कारोबार सन्तोषजनक
Published: (Updated: )
by .बिर्तामोड । स्थापनाको १३ वर्षमा यात्रारत बिर्तामोडको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरको त्रासका बीचमा पनि उल्लेखनीय वित्तीय कारोबार गरेको छ ।
गत आर्थिक वर्षका लागि संस्थाले निर्धारण गरेको अनुमानित आय–ब्ययमा कोरोना कहरले उत्ति धेरै असर नपारेको साझामञ्चलाई प्राप्त वित्तीय विवरणमा देखिन्छ । चैत महिनादेखिको लकडाउनले उत्पन्न असहज परिस्थितिमा पनि संस्थाको वित्तीय कारोबारमा असन्तुष्ट भइहाल्नु पर्ने अवस्था नरहेको अध्यक्ष यामकुमार चुँडालको भनाई छ ।
‘अनुमानित वासलात अनुसार कारोबार पुर्याउन सकिएन, तर यो बीचमा कार्यक्रमहरु नहुँदा स्वतः खर्च कटौती भएकाले अनुमानित खुद नाफाभन्दा बृद्धि गर्न सफल बनेका छौं’ अध्यक्ष चुँडालले बताए ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ का लागि ३३ करोड ५४ लाख ८९ हजारको वासलात अनुमान गरेकोमा ३२ करोड १० लाख ८२ हजार पुर्याइएको वित्तीय विवरणमा उल्लेख छ ।
संजिवनी साकोसमा दुई करोड ४७ लाख ३० हजार ५०० रुपैंयाँ शेयर पूँजी, १८ करोड ५६ लाख ९८ हजार निक्षेप, २७ करोड दुई लाख ९० हजार कर्जामा रहिरहेको लगानी छ । संस्थाका व्यवस्थापक कृष्णप्रसाद खरेलका अनुसार समीक्षा अवधिमा खुद नाफा ६३ लाख २४ हजार अनुमान गरिएकोमा सोभन्दा बृद्धि गरी ६६ लाख ५० हजार पुर्याइएको छ । अवलोकन भ्रमण, सदस्य शिक्षा तालिम, निरीक्षण यातायातजस्ता शीर्षकमा खर्च गर्नु नपरेकाले नाफामा बृद्धि भएको खरेलले बताए ।
संजिवनीले कोरोना संक्रमणलाई ध्यान दिँदै यो वर्ष विगतमा जस्तो भब्य साधारणसभाको सोचाई नबनाएको अध्यक्ष चुँडालले बताएका छन् । ‘संस्थाका सबै सदस्यको हातमा प्रतिवेदन पुर्याउनेछौं । उहाँहरुबाट प्राप्त हुने टिप्पणी र सुझावलाई कार्यान्वयन तहमा लैजान समिति, उपसमितिहरु बीच छलफल गर्छौं । छाता संस्था, मन्त्रालय र विभागले साधारणसभाको लागि निर्धारण गर्ने नयाँ नीति विधिअनुसार चल्ने तयारीमा छौं’ अध्यक्ष चुँडालले प्रष्ट पारेका छन् ।
गतवर्षको वित्तीय अवस्थितिबारे छलफल गर्न र चालू वर्षका लागि नीति तथा कार्यक्रम बनाउन चाँडै सञ्चालक समितिको बैठक बस्ने भएकाले साधारणसभाको विषयमा निर्णय गरिने जनाइएको छ । संजिवनी साकोसले अन्य सहकारीको भन्दा पृथक पेन्सन बचत योजना सञ्चालन गरेर सदस्यहरुबाट छुट्टै माया पाइरहेको छ ।
Comments