Sajhamanch Archive

ध्यान के हो, किन गर्ने ?

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by .

मन अति चञ्चल छ । एकछिन पनि नियन्त्रणमा छैन । हावाजस्तै बहन्छ । पानीभन्दा सुक्ष्म हुन्छ मन । कहिले मन भूतकालमा जान्छ भने कहिले भविष्य कालमा जान्छ । हाम्रो मनभित्र असंख्य विचारहरु आइरहेका हुन्छन् । कतिपय ती विचारहरुले गर्दा हाम्रो मनमा तनाव उत्पन्न गराउँछ । ध्यान भनेको सजकतापूर्वक श्वासमा हेर्ने विधि हो । सबै प्रयत्न्नहरु छोडेर आफैंभित्र विश्राम गर्नु हो ध्यान ।

आजको भागदौडको समयमा मान्छेहरु यति व्यस्त भए कि आफंलाई नियाल्ने फुर्सद छैन । विभिन्न समय परिस्थितिमा मान्छेहरु तनावग्रस्त भएको देखिन्छ । शरीरलाई स्वस्थ, मनलाई शान्त र तनावबाट मुक्त बनाउने उत्तम उपाय भनेकै योग, प्राणायाम र ध्यान हो । नियमित योगाभ्यास गर्दा शारीरिक मानसिक विकासका साथै आध्यात्मिक ज्ञान प्राप्त हुन्छ । नियमित योग ध्यान गरिएमा व्यक्तिको मन शान्त हुने तथा जीवनमा केही सकारात्मक परिर्वतन हुन थाल्छ । यसका साथै स्वास्थ्यमा पनि सुधार हुन्छ । मानव शरीरमा भित्र आउने श्वासले उर्जा दिन्छ भने बाहिर जाने श्वासले विश्राम दिन्छ ।

हामी श्वास प्रश्वासमा कति सजक छौं, पक्कै पनि धेरै नहुन सक्छौं । कुनैबेला त श्वास फेरेको पनि थाहै पाउँदैनौं । छिटो–छिटो हिंड्दा, भारी काम गर्दा, दौडिँदा मात्र हामीले श्वास फरेको अनुभव हुन्छ । हाम्रो जीवन श्वासमा अडिएको छ । हामीले जीवनमा चाहेका खुसी, आनन्द, शान्त मन भेटाउन एकैछिन मात्र श्वासप्रति सजग भए पुग्छ । मन र श्वासमा प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । मनमा परिर्वतन आउँदा श्वासमा पनि परिर्वतन आउँछ । जस्तो रिस उठ्दा श्वासको गति छिटो–छिटो हुन्छ र तनावमा जाँदा श्वास छोटो अनि भारी हुन्छ । खुसी वा आनन्दमा रहँदा श्वास लामो र हलुका हुन्छ । मनले श्वासलाई परिर्वतन गरिरहेको छ भने के श्वासले मनको परिवर्तन गर्दैनन् ।

श्वासको प्रकृयालाई नियन्त्रण गर्र्ने पद्धतिलाई प्राणयाम भनिन्छ । यसले इन्द्रियलाई बसमा राख्न मद्धत पुर्याउँछ । व्यस्त जीवन छ । आजको जीवनशैलीले गर्दा हामीभित्रको रोग प्रतिरोध क्षमतामा ह्रास आइरहेको छ । खुसी आनन्द शान्त मन चाहेका छौं । तनावरहित जीवनको खोजमा भौंतारिएका हुन्छौं । त्यो बाहिर खोजेर पाइने कुरा होइन । हामीभित्र नै छ । केही समय आफैंभित्र नियालियौं भने अथाह शान्तिको अनुभन गर्न सक्छौं । चिन्ता, भय, उदासिनता, डिप्रेसन आदि मनबाट उत्पन्न हुने रोगहरु हुन् । यिनबाट बच्नको लागि ध्यान आवश्यक छ ।

हामी दैनिक नुहाउँछौं, ब्रस गर्छौं, नाक कानबाट फोहर निकाल्छौं । यसोगर्दा हाम्रो शरीरबाट २० प्रतिशत मात्र विकार जान्छ भन्ने मानिन्छ । शरीरको लागि त गरिरहेका हुन्छौं तर मनको लागि के गर्ने ? शरीरको रोग भन्दापनि मनको रोगबाट पीडित भएका छौं । चिन्ता भय, उदासिनता, डिप्रेसन, एन्जाइटी यी सबै मनबाट उत्पन्न हुने गर्छन् । ८ घन्टा सुत्दा जति उर्जा आउँछ, त्यति नै २० मिनेटको ध्यान गर्दा आउँछ । ध्यान गर्दा सकारात्मक उर्जा आउने, शरीर स्फूर्त हुने, मनबाट उत्पन्न हुने पीडा कम हुनेगर्छ । यसैले स्वास्थ शरीर एवम् शान्त मनको लागि ध्यान गर्न आवश्यक छ ।

संकलनः अमित संग्रौला

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *