Sajhamanch Archive

रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

Published: in खेलकुद, विश्व समाचार by .

असुनियन । ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पूर्व लेजेन्ड रोनाल्डिन्हो र उनका दाइ झन्डै पाँच महिनापछि पाराग्वेको जेलबाट रिहा भएका छन् । पाराग्वेका न्यायाधीश गुस्ताभो अमरिल्लाले नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेका रोनाल्डिन्हो र उनका दाइलाई मुक्त गरेका हुन् ।

नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाइ रोवर्टो डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले एक होटेलबाट उनीहरूलाई गत मार्चको पहिलो साता पक्राउ गरेको थियो । बालोन डि ओर विजेता रोनाल्डिन्हो पिछडिएका बच्चाहरूको समर्थनको एक कार्यक्रमको लागि पाराग्वे पुगेका थिए ।

तर, त्यसको दुई दिनपछि पाराग्वे प्रहरीले उनीहरूले नक्कली पासपोर्ट प्रयोग गरेर पाराग्वे छिरेको पत्ता लगाएपछि होटेलमा छापा मार्दै पक्राउ गरेको थियो । यी दाजुभाइलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा नजरवन्दमा राखिएको थियो ।

न्यायाधीश गुस्ताभोका अनुसार उनीहलाई ६९ हजार पाउन्ड जरिमाना बाहेक कुनै प्रतिबन्ध छैन । तर, ४० वर्षे भेट्रान मिडफिल्डर रोनाल्डिन्होले आफूले चाहेको जुनसुकै देशमा स्वतन्त्र रूपमा यात्रा गर्न पाउने भए पनि उनले आफ्नो स्थायी ठेगाना परिवर्तत गरेको खण्डमा हामीलाई सुसूचित गराउनुपर्नेछ ।

रोनाल्डिन्होले आफ्ना रिहाइका सर्तहरू स्वीकार गरेका छन् । रोनाल्डो हरेक तीन महिनामा एक वर्षसम्म तथा उनका दाइ दुई वर्षसम्म ब्राजिलमा न्यायाधीशसमक्ष पेस हुनुपर्नेछ । ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका रोनाल्डिन्होलाई सर्वश्रेष्ठ फुटबलरको रूपमा लिइन्छ ।

उनले १० वर्ष युरोपको बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट खेलिसकेका छन् । उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग र दुईपटक ला लिगा र मिलानबाट सिरी ‘ए’ जितेका छन् । ब्राजिल फर्किएपछि उनले एट्लेटिको मिनेइरोबाट दक्षिण अमेरिकी च्याम्पियनसिप कोपा लिबर्टाडोरससमेत जितेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *