Sajhamanch Archive

साहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by .

बिर्तामोड । २०५६ साल असार ३१ गते साहित्य चौतारी झापाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा सो संस्थाले स्मृति पुरस्कार स्थापनाको घोषणा गरेको छ । प्रत्येक वर्ष साहित्य चौतारीको वार्षिकोत्सवमा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गर्ने गरी निर्णय भएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

उक्त सम्मान पुरस्कारका लागि एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिनेछ र अक्षयकोषको व्याजबाट हरेकवर्ष एकजना पुरस्कृत गरिने निर्णय भएको हो । आज सम्पन्न बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरे, साहित्य चौतारी झापाका पूर्व कार्यसमिति सदस्य अमृतलाल श्रेष्ठ र समितिका सल्लाहकार धु्रव पाठककी आमा मनमाया पाठकको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकले साहित्य चौतारीको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको १२औं पुण्यतिथि भदौ १३ गते शनिबार श्रद्धाञ्जली सभा गर्ने नर्णय गरेको छ । संस्थापक संरक्षक श्रेष्ठका अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर भौतिक दूरी कायम गर्दै सरगम संगीतालय र गुरुकूल संगीत विद्यालयका विद्यार्थीहरुबाट राष्ट्रकविका सिर्जनाहरु वाचन तथा गायन गरेर श्रद्धाञ्जली सभा गरिनेछ ।

साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षतामा भएको बैठकमा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, उर्मिला श्रेष्ठ, संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक शिवशंकर थापा लगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *