Sajhamanch Archive

इस्टु भद्रपुर निर्णायक आन्दोलको चरणमा, १५ दिने अल्टिमेटम

Published: in शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन, एन प्याब्सन तथा नगर क्षेत्रमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ ।

५ महिनादेखि भोकमरीमा परेका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एनप्याब्सनका गतिविधि विरूद्ध आन्दोलित भएको युनियनले भदौ मसान्त भित्र ३ महिनाको तलव भुक्तानी हुनुपर्ने एक सुत्रीय माग राखेर ज्ञापनपत्र बुझाएको हो ।

भद्रपुर नगरपालिकालाई समेत बोधार्थ दिइएको १५ दिने अल्टिमेटममा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने ठहरसहित विद्यालय सञ्चालकहरू, प्याब्सन, एनप्याब्सनले राज्यको नीति नियम विपरित चल्न नहुने अनुरोध गरिएको छ ।

इष्टु नगर अध्यक्ष द्रोण अधिकारी, उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे तथा प्रदेश सहसचिव राजु वरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना संक्रमण जोखिम तथा बन्दाबन्दीको परिणामस्वरूप भद्रपुर नगर क्षेत्रमा सञ्चालित विद्यालयमा निरन्तर काम गर्दै आएका शिक्षक कर्मचारीहरू गत वैशाखयता अघोषित बेरोजगार भएको उल्लेख छ ।

यस अवधिमा पनि शिक्षकहरुले तन मन लगाएर तिनै शैक्षिक प्रतिष्ठानको उन्नयनका लागि केही न केही गतिविधि गरिरहेकोमा पारिश्रमिक पाउनबाट बञ्चित रहेको उल्लेख छ । ५ महिनाको अवधिमा कुनै पनि संस्थागत विद्यालयका सञ्चालकहरूबाट आफू मातहतमा कार्यरत शिक्षक कर्मचारीको अवस्था बारे बुझ्ने प्रयाससमेत नभएको उनीहरुको जिकिर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *