तेराखकै घरमा पुगेर साहित्य चौतारीले गर्यो सम्मान
Published:
by .मेचीनगर । साहित्य चौतारी बिर्तामोडले आज मेचीनगर ९ मा स्थायी बसोबास रहेका साहित्य साधक तेजराज खतिवडा (तेराख)लाई उनकै निवासमा गएर सम्मान अर्पण गरेको छ ।
लामो समयदेखि साहित्य सिर्जनामा लागि रहेका तेराखलाई ‘दीर्घ साहित्यसेवी सम्मान’ प्रदान गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीचमा पनि स्वास्थ्य प्रोटोकलको पालना गरी तेराखको निवासमा नै पुगेर सम्मान गरिएको चौतारीका सदस्य देवीचरण भण्डारीले जनाएका छन् ।
तेराखका लगभग दुईदर्जन जति कृतिहरु प्रकाशित भइकेका र आधादर्जन भन्दा बढी प्रकाशोन्मुख अवस्थामा रहेका छन् । साहित्य चौतारीका सल्लाहकार हस्त परियारको अध्यक्षता, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यता, चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठसहितले तेराखलाई सम्मान गर्दै उनको साहित्य साधनाका बारेमा चर्चा गरेका थिए । तेराखले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको उनीहरुले खुलेर प्रशंशा गरेका थिए ।
सम्मानित स्रष्टा तेराखले जीवनका अनुभव र अनुभूतिहरुलाई संक्षेपमा उल्लेख गर्दै स्रष्टाहरुको उचित मूल्यांकन गरेर सम्मान गर्ने कार्यले पछिल्लो पीँढीलाई पनि जागरुक बनाउने र दबाब सिर्जना गर्ने धारणा राखेका थिए ।
कार्यक्रममा तेराखको परिचय चौतारीका सल्लाकार कृष्णप्रसाद पौडेलले गराएका थिए भने सम्मानपत्र वाचन चौतारीका सदस्य देवीचरण भण्डारीले गरेका थिए ।
तेराखका सिर्जनाहरुः
प्रिया (काव्य) २०२६, प्रिय शान्तिनगर (काव्य) २०२८, प्रजातान्त्रिक तरिकाले शिक्षक (पुस्तिका) २०५३, महिला कार्यकर्ता (पुस्तिका) २०५३, अझै यहाँ उस्तै छ (उपन्यासमय नाटक) २०५३, अलपत्रे फूलहरु (कविता संग्रह) २०५३, पश्चिमी हावा (काव्य) २०५५, सिमीको बोट (कथा संग्रह) २०५६, रातको बाह्रबजे (उपन्यास) २०५६, म, आगो र पानीहरु (निबन्ध संग्रह) २०५६, टेस्टट्युव बेबी (उपन्यासमय नाटक) ढाडेको नाकमा घिउ (कथामय निबन्ध संग्रह) २०५९ सर्वजा (उपन्यास) २०६०, मय विधाको प्रस्तावना २०६२, महानन्द दर्पण २०६५, गोल चिन्तन २०६७, मनोकामना (छन्द कविता संग्रह) २०६९, समय समयका अनुभूति (लेख निबन्ध) २०७३, अवस्थल उपन्यास (मय विधामा आधारित) २०७४ र मे को प्रेम (कथा संग्रह) २०७७ तेराखका हालसम्म प्रकाशित कृतिहरु हुन् ।
Comments