Sajhamanch Archive

एनएमसी कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न

Published: in समाज, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न भएको छ । संस्थाका समिति पदाधिकारी तथा विभागीय कर्मचारीहरूको सहभागितामा शुक्रबार एनएमसी बिर्तामोड कार्यालयको सभाहलमा आ. व. २०७७/०७८ को पहिलो विस्तारित बैठक सम्पन्न गरिएको हो ।

संस्थाद्वारा सञ्चालित बैंकिङ, डेरी, कृषि फर्म, सहकारी पसल र चिया व्यवसायसँग सम्बन्धित विषयवस्तुहरु माथि बैठकमा छलफल तथा प्रस्तुति गरिएको थियो । कार्यक्रममा संस्थाद्वारा सञ्चालित विभिन्न व्यवसायका प्रशासनिक प्रमुखले आ–आफ्ना व्यवसाय अन्तर्गतका विषयलाई बैठक सामू प्रस्तुत गरेका थिए ।

बैंकिङ व्यवसाय अन्तर्गत ४० वटै कार्यालयका कार्यालय प्रमुखले आफ्नो कार्यालय मातहत रहेका चुनौती तथा अवसर बारे बोलेका थिए । कर्पाेरेट कार्यालय तथा प्रधान कार्यालय मातहतमा रहेका आन्तरिक लेखा परीक्षण विभाग, कर्जा विभाग तथा लेखा विभागका तर्फबाट विभागीय प्रमुखहरूले प्रस्तुति राखेका थिए ।

विस्तारित बैठकमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले उत्प्रेरणात्मक धारणा प्रस्तुत गरेका थिए । मेनेजर र लिडरबीचको सामञ्जस्यताका बारेमा अध्यक्ष उप्रेतीको विशेष प्रस्तुति रहेको थियो । यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को नारामा केन्द्रित विषयमाथि सहजीकरण गरेका थिए ।

कर्पाेरेट व्यवस्थापन समूहका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न बैठकको समापनमा बोल्दै वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले एनएमसीलाई उचाइमा पुर्याउन सहयोग गर्ने सबै कर्मचारीको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त ढंगले लाग्न सबैलाई आह्वान गरे ।

सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले सहजीकरण गरेको बैठकमा उपस्थित सबैलाई स्वागत गर्दै व्यवस्थापन समूहका सदस्य सचिव चेतन शर्मा पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *