Sajhamanch Archive

कोभिड–१९ महामारीका बीच अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौँ । कोभिड–१९ महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार वटा आयोजनाको निर्माण सम्पन्न भएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ्ग स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्क वे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

यी चारवटै आयोजनाको आज अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीका बीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणाम स्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए ।

“सङ्क्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ” पर्यटनमन्त्री भट्टराईले भनेका छन् ।

हालैको मन्त्रिपरिषद् वैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनको भनाई छ । “अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल बिस्तारै बाक्लिनेछ” पर्यटनमन्त्री भट्टराईको विश्वास छ ।

कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिनेपनि मन्त्री भट्टराईले खाँचो औंल्याएका छन् । उनले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले विमानस्थलको विस्तारको संरचनाले चाप कम गर्नुका साथै जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने प्रष्ट पारेका छन् । विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमन तर्फ अत्याधुनिक नयाँ आगमन हलले जो कोही नेपाली ताथ विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको mझल्को दिने मन्त्री भट्टराईको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *