Sajhamanch Archive

पूर्वाधार विकासको लगानीभन्दा सभ्यता निर्माणमा गरिएको लगानी उन्नत : नगरप्रमुख श्रेष्ठ

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । प्रदेश १ कै पहिलो बालमैत्री नगरको इतिहास रच्न कस्सिएको भद्रपुर नगरपालिकाले अहिलेसम्म गरेको प्रगतिबारे नगर क्षेत्रमा रहेका सञ्चारकर्मीसँग आज अन्तरसम्वाद गरेको छ ।

बालमैत्री नगर घोषित हुन १७ वटा चरण पार गर्दै ३९ वटा सूचकको ८० प्रतिशत प्रगति पूरा हुनुपर्ने मापदण्ड पार गरिसकेको नगरपालिकाले अझ व्यापक प्रगतिका लागि सञ्चारकर्मीसँग सुझाव लिन कार्यक्रम गरेको जनाइएको छ ।

अन्तर सम्वादमा प्रगति विवरण पेश गर्दै बालमैत्री अभियन्ता सुमन ढकालले जन्म दर्ता र शुद्ध पिउने पानीको पहुँच सूचक पूरा गर्न बाँकी रहेको भए पनि अन्य सूचक मापदण्ड पार गरिसकेको जानकारी गराए ।

कार्यक्रममा भद्रपुर बाल सञ्जालका अध्यक्ष आरोध्या प्याकुरेलले बालबालिका भविष्यका कर्णधारमात्र नभएर वर्तमानको साझेदार भएकोले नीतिगत रूपमै नगरपालिका बालमैत्री अभियानमा लागेकोमा खुसी व्यक्त गरिन् ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पूर्वाधार विकासमा गरिएको अर्बौं लगानीभन्दा उन्नतशील मानवीय सभ्यता निर्माणका लागि गरिने लाखौं लगानी दीर्घकालिन विकास बन्न सक्ने सोचेर बालमैत्री नगर निर्माणमा जुटेको प्रष्ट पारे । नगरप्रमुख श्रेष्ठले सुन्दर भविष्य निर्माणको परिकल्पना गर्ने हो भने असल नागरिक बन्ने आधार तयार पारेर हिड्न सक्नुपर्छ भन्दै बालमैत्री नगर निर्माणमा सञ्चार जगतको भूमिका अपरिहार्य रहेको पनि औंल्याएका छन् ।

नगरपालिकाका प्रेस संयोजक गंगा बरालले सञ्चालन गरेको कार्यक्रम बालमैत्री सरोकारवाला निकायका सदस्य सञ्चारकर्मी दीपक अधिकारीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले मन्तव्य राख्दै दीर्घकालिन विकासका रूपमा बालमैत्री नगर निर्माण गर्न देखिएका समस्या हल गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *