स्वच्छ र सफा दूधका लागि एनएमसी डेरीका प्रयासहरु
Published: (Updated: )
by .एनएमसीले डेरी उद्योग सञ्चालनमा ल्याउनुभन्दा पहिला म पनि दूधमा पानी मिसाएन भने शुद्ध र स्वच्छ हुन्छ भन्ने भ्रममा थिएँ । डेरी उद्योग शुरु गर्ने सोच बनाएर डेरीका लागि आवश्यक जनशक्ति खोज्ने क्रममा डेरी विशेषज्ञ श्याम मिश्र सरसँग मेरो पहिलो भेट धरानमा भएको थियो । श्याम सरले डेरी उद्योग चलाएर राम्रो प्रोडक्ट बनाउन शुद्ध र स्वच्छ दूधको आवश्यकता पर्छ । अहिले बजारमा पाइने दूध न शुद्ध पाइन्छ न स्वच्छ । त्यसैले राम्रो र स्तरीय डेरी उत्पादनका लागि पहिला गाई पाल्नुपर्छ, शुद्ध र स्वच्छ दूध उत्पादनमा लाग्नु पर्छ, अनिमात्रै डेरीका उत्पादन राम्रो बनाउन सकिन्छ भन्नुभयो । उहाँको सल्लाहमा गाई पाल्न पहिला शुरु गरौं भन्ने थियो । हामी प्रष्ट थियौं, गाई एनएमसीका सदस्यले पाल्ने र दूध उत्पादन गर्ने । त्यो दूध संस्थाले किनिदिने, किसानको पक्षमा हुने गरी काम गर्ने र डेरी उद्योग चलाउने । एनएमसीले नै गाई पाल्ने हो भने त हामीले कसरी किसान सदस्यको सेवा गर्न सक्थ्यौं र ?
श्याम सरसँगको दोस्रो पटकको भेटमा हामीले साझा धारणा बनायौं । किसानलाई शुद्ध र स्वच्छ दूध उत्पादन गर्न लगाउने । त्यसका लागि निरन्तर पहल एनएमसीले गर्ने र एनएमसीले किसानबाट नै शुद्ध र स्वच्छ दूध लिएर डेरी उद्योग चलाउने, स्तरीय डेरीका उत्पादन बजारमा लैजाने । डेरी उद्योग शुरु भयो । पहिलो अभियान पानी नमिसाएको दूध कसरी लिने भनेर प्रयास गरियो । त्यसमा क्रमशः सफल हुँदै गइयो । अब हाम्रो मिसन स्वच्छ र सफा दूध कसरी प्राप्त गर्ने र गुणस्तर कायम गरेर शुद्ध र गुणस्तरीय उत्पादन बजारमा पठाउने भन्नेमा केन्द्रित गर्न थाल्यौं ।
किसानसँग माफी माग्दै म यो सत्यकुरा भन्न बाध्य छु कि अधिकांश किसान आफैं फोहोरी छन् । किसानको गोठ फोहोर हुने नै भयो । गाई गोवरमै बस्छन् । गोवर लागेका फाँचा र थुनबाट दूध निकाल्नु पर्छ । दूधमा गोवरको अंश पर्ने नै भयो । दुहुने ढुङ्गा्रे कटकटिएको र फोहोर छ । दुहुने मानिसका हात फोहोर छन्, नङ लामा लामा छन् । राम्ररी साबुन पानीले हात धोएर दुहुने चलन नै छैन । दोएको दूध राखेका भाँडा लामो समयसम्म फोहर भएको गोठमै राख्ने चलन छ । दूध बोक्ने भाँडा फोहोर मात्रै छैनन्, सफा गर्नै नमिल्ने खालका प्लास्टिकका जर्किनमा दूध बोक्ने गरेको छ । सानो मुख गरेका प्लास्टिकका बोतल र जर्किनमा दूध बिक्री गर्न लैजाने चलन व्यापक छ । दूध खन्याउने बेलामा मसिनो कपडाको जालीले छानेर दूध लिने गरिन्छ । कतिपय किसानले ल्याउने दूध बोक्ने भाँडोको पिँधमा घाँस परालका अवशेष, गोवरको लेदोसम्म भेटिने गरेको थियो । मानिसलाई सम्झायो, मान्दैनन् । उनीहरुलाई त्यही सफा लाग्छ । यस्तै दूध सबैले लिन्छन्, कसैले केही भन्दैनन् यहाँ चाहिँ mोहोर भयो रे ! भनेर उल्टै हामीलाई हप्काउने शैलीमा कुरा गर्छन् । दुईवटा अलि ठूला खालका फार्ममा कतिभन्दा पनि नसुध्रिएपछि दूध लिन जान नै बन्द गर्यौं । ती दुवै फार्म केही समयको अन्तरालमा बन्द पनि भए ।
दूध संकलन केन्द्रहरुमा दूध आउने बेलामा पुग्थ्यौं । सानो मुख भएका बोतल, प्लास्टिकका जर्किन, जार र घेरा भएको कुनै पनि प्लास्टिकको भाँडामा दूध ल्याउन नहुने बतायौं । दूधको ओसारपसार गर्न भएसम्म स्टिलको र नभएमा नकिच्चिएको सिल्भरको भाँडा प्रयोग गर्न अनुरोध गर्यौं । हात छिराएर सफा गर्न मिल्ने भाँडामा मात्रै दूध ल्याउन पाइने नियम बनायौं । पहिलो पटक किसानको दूध बोक्ने भाँडामा सुधार ल्याउन प्रयास गर्यौं । यसमा धेरै हदसम्म सफल भयौं । पटकपटक किसानले ल्याएका अनुचित भाँडा जफत गर्यौं । एकपटक एकजना किसानले दुई लिटर दूध ल्याएको प्लास्टिकको भाँडो जफत गरेका थियौं । उनले त्यो भाँडो लिन एकघण्टा जति पर्खिए । भोलि केमा दूध ल्याउनु ? मेरोमा अर्को भाँडो नै छैन भने । त्यो भाँडो यति फोहर थियो कि त्यसको दुर्गन्धले नाकको छेउमा लानै सकिँदैन थियो । भाँडो नफुटाई धर पाएनौं । अर्को भाँडो किन्ने पैसा छैन भने । पैसा लिएर जानुभन्दा पनि नमान्ने । तपाईको हिसाब गरेर पैसा लानु अबदेखि दूध नल्याउनु भनेपछि मात्रै अँध्यारो मुख लाएर फर्किए । अर्को दिनदेखि सिल्भरको बाल्टीमा दूध लिएर आउन थालेका थिए ।
दूध ओसार पसार गर्ने भाँडामा केही सुधार हुन थालेपछि हामीले संकलन केन्द्र र चिस्यान केन्द्रको सरसफाईमा ध्यान दिन थाल्यौं । चिस्यान केन्द्रमा पनि सरसफाईमा धेरै ध्यान दिने गरेका रहेनछन् । काम गर्ने मानिसको सफाई, भाँडाको सफाई, दूध चिस्याउने भ्याटको सफाई, भुईंको सफाई, कोठा र दूध झिक्ने पाइपको सफाईमा चिस्यान केन्द्र सञ्चालक र त्यहाँ काम गर्ने कर्मचारीको ध्यान खासै जाने गरेको रहनेछ । उनीहरुले जति सफा गरेका छन्, त्यो उनीहरुका लागि पुग्दो हुन्थ्यो । त्यसैले कहिलेकाँही हामी नै उनको भुईं, भाँडा र पाइप सफा गर्न थालेपछि होइन, नगर्नु, हामी गरिहाल्छौं भन्थे । यसरी चिस्यान केन्द्र र दूध संकलन केन्द्रको सफाईमा सुधार गरेका थियौं । तर पनि मानिसमा हत्तपत्त बानी सुधार्न नसकिने ।
एउटा चिस्यान केन्द्रको अवस्था निकै कमजोर थियो । पटकपटक भन्दा पनि सुधार भएको छैन भन्ने सूचना आएपछि म, नारायण कोइराला र प्रशासनिक प्रमुख नवराज अधिकारी गयौं । अवस्था उस्तै । निकै फोहोर । सञ्चालकलाई बोलायौं र भोलिदेखि दूध लिन गाडी आउँदैन, अन्यत्रै बेच्नु होला भनेर आयौं । उनलाई पटकपटक सम्झाएका थियौं । उनको अवस्थाका बारेमा अवगत गरायौं । फोहोर देखायौं । जो मानिस आफैं फोहोरी छन्, उनीहरुको सफाईमा खासै ध्यान हुँदैन । सञ्चालकको अवस्था पनि राम्रो थिएन । त्यो पनि उनलाई भन्यौं । हिड्ने बेलामा तपाईं आफैं आफ्नो सफाईमा ध्यान दिनुहुन्न भ्याटको के सफाई गर्नुहुन्छ भनेका थियौं । उनले दूध नियमित लगिदिनु, अब सधैं सफा गर्छु भन्दैथिए । हामीले सुधार हुँदैन भन्ने निश्कर्ष गरेर दूध लिन गाडी नपठाउने भन्यौं । भोलिपल्ट ती मानिस चिटिक्क परेर डेरीमा हामीलाई भेट्न आएका थिए । ती हिजोकै मानिस हुन् भन्न नमिल्ने गरी । उनले फेरि पनि दूध लिइदिन भने । दूधको त्यो बेला खाँचो पनि थियो । तर पनि सधै समस्या हुने ठानेर दूध लिन इन्कार गरेका थियौं ।
हामीले दूध बोक्ने भाँडोको बारेमा, चिस्यान केन्द्र, गाई गोठ र गाई दुहुने चलनमा परिवर्तनका लागि र समग्र दूधको स्वच्छताका लागि किसान भेला धेरै पटक गरेका छौं । ठाउँठाउँमा गरेका छौं, पटकपटक गरेका छौं र गरिरहने छौं । किसानलाई गोठ सफा गर्न उत्प्रेरित गर्न हामीले भन्ने गरेका छौं– गाईलाई पनि सफा मन पर्छ । गाई खुसी भए दूध बढ्छ । दूध दुहुने हात सफा हुनुपर्छ, गाईको फाँचो सफा पानीले पखालेर सफा कपडाले पुछेर सुख्खा बाल्टीमा दुहुनु पर्छ । दूध दुहुने, ओसार पसार गर्ने सबै भाँडा सफा गरी झोल साबुनले धुने र घाममा घोप्ट्याएर सुख्खा बनाउनु पर्ने बारे सिकाएका छौं । यसको महत्व बुझायौं अहिले धेरै सुधार पनि भएको छ ।
एनएमसी शरणामती कार्यालयका संयोजक धनपति रिजालले एक दिन आफ्ना अनुभूति मलाई सुनाउनु भएको थियोः किसानले दूध बोक्ने भाँडा त फेर्लान् तर दूधमा पानी मिसाउन र अरु सरसफाईका कुरा के मान्लान् र ! जस्तो लागेको थियो । तर, मेहनत गर्दा हुँदोरहेछ । अहिले धेरै किसानले सफा र शुद्ध दूध ल्याउने गरेका छन् ।
दूधलाई सफा र ताजा राख्न माथि भनिएका कुरा गरेर मात्रै नपुग्ने रहेछ । दूध शुद्ध र सफा भए पनि यदि दूध दोएको २–३ घण्टाभन्दा बढी समय चिसो नपारी वा नतताई राखेमा बिग्रने रहेछ । त्यसैले दूध दोएपछि सकेसम्म छिटो संकलन केन्द्रमा लाने र चिसो पार्ने काम गर्नु पर्ने रहेछ । दूधलाई लगातार चार डिग्रीमा चिसो पारेर राख्न सकेमात्र २४–२५ घण्टासम्म ताजा रहने हुँदोरहेछ । त्यसैले किसानलाई दूध दुहुने बित्तिकै चिस्यानमा पुर्याउन र चिस्यान केन्द्रले तुरुन्तै चिसो पारिहाल्न र चिसै राख्न सिकायौं । कुनैकुनै चिस्यान केन्द्रले बिजुलीको पैसा जोगाउन दूध लिन जाने बेलामा चिसो पार्ने गरेको पनि पाइयो । यस्तो दूध केही बिग्रिसकेको हुन्थ्यो । तर फाटेको हुँदैन थियो । फाट्ने चान्स बढी हुन्थ्यो । सम्झाउने र कहिले काँही दूध खरिद गर्न नसकिने अवस्थाको छ भनेपछि सुधार हुन थाल्यो ।
उद्योगमा ल्याएर पनि दूधलाई बिग्रन नदिन त्यतिकै होसियार हुनुपर्ने । शुरुमा बिजुलीको आउने जानेक्रम धेरै हुन्थ्यो । जेनेटर चलाएर चिसो पार्नुपर्ने । कहिले काँही जेनेटरमा पनि समस्या आउने हुँदा खुबै समस्या हुन्थ्यो । तर अहिले अवस्था सामान्य हुदै गएको छ ।
शुरुमा हामीले दूधको अभाव हुँदा इलामतिर पनि दूध संकलन गर्न गयौं । त्यहाँका चिस्यान केन्द्रबाट दूध किन्ने काम भयो । तर गुणस्तर पहाडको दूधमा निकै कमजोर पायौं । पहाडमा दिनमा एकपटक बिहानमात्रै दूध संकलन हुँदोरहेछ । बेलुकाको दूध किसानले बिहानको दूधमा मिसाएर बेच्ने गरेको कारण बेलुकाको दूधमा खराबी आउन थालेको हुँदोरहेछ । तर अरुले यस्तै दूध लिने गरेको कारण त्यहाँको चलन सुधार्न सकिएन । पहाडमा दूध लिएर उकालो ओरालो गर्नुपर्ने भएकाले दुईपटक संकलन गर्न मुस्किल पनि रहेछ । त्यसैले गुणस्तर कमजोर हुने भएपछि पहाडको दूध लिन छाडिदियौं ।
शुद्ध र स्वच्छ एवम् सफा दूधका लागि किसानले मिल्किङ मेशिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । तर यो अभ्यास कतैकतै भर्खर शुरु हुँदैछ । किसानको सफा आचरण सँगसँगै मिल्किङ मेशिनको व्यापक प्रयोग हुन थालेपछि दूधको शुद्धता र स्वच्छता अवश्य राम्रो हुनेछ । हामी निरन्तर यो अभ्यासका लागि प्रयासरत छौं । दुधको स्वच्छताका लागि गरेको यो प्रयास निरन्तर जारी छ । किनकि पुराना किसानमा बानी परे पनि एनएमसी डेरी उद्योगसँग जोडिन आउने नयाँनयाँ किसानका आनीबानी पुरानै हुन्छन् । उनीहरुले चलनलाई नै पछ्याएका हुन्छन् । अरु दूधको कारोबार गर्नेको चासो भनेको दूधमा पानी नभइदिए वा थोरै भइदिए हुन्थ्यो भन्ने मात्रै रहेको पायौं । स्वच्छ दूधको बारेमा धेरैको चासो नै थिएन र आजसम्म सायद छैन पनि ।
शुद्ध, सफा र स्वच्छ दूधबाट मात्रै राम्रा डेरी प्रोडक्ट बन्न सक्छन् र यस्ता प्रोडक्टको सेवनबाट मात्रै उपभोक्ताको स्वास्थमा सकारात्मक प्रभाव पर्छ । अन्यथा कमसल दूधको सेवनले उपभोक्ताको स्वास्थमा उल्टै नोक्सानी हुने कुरा बुझ्न र बुझाउन आवश्यक छ । सचेत ठानिएका मानिस पनि आफ्नो सवारी साधन पुरानै भए पनि डिजल, पेट्रोल शुद्ध होस् भनेर चाहन्छन् नत्र सवारीमा खराबी आउने चिन्ता गर्छन् । तर आफैंले सेवन गर्ने दूध शुद्ध, सफा, स्वच्छ र प्रशोधित हो कि होइन भनेर उति ध्यान दिएको पाइँदैन ।
Comments