Sajhamanch Archive

साझामञ्चलाई मेची सहकारी सञ्चारगृह पुरस्कार

Published: in मुख्य समाचार, समाज, सहकारी by .

दमक । यहाँस्थित मेची सहकारी संस्थाले आज आफ्नो २४औं वार्षिकोत्सव तथा २६औं साधारणसभा समापन गरेको छ । विगतमा बृहतरुपमा कार्यक्रम गरी साधारणसभा गर्ने सो संस्थाले कोरोना संक्रमणको महामारीका कारण यो वर्ष प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा साधारणसभा समापन गरेको हो ।

प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी अभियान, कर्मचारी तथा सञ्चार क्षेत्रका आठलाई नगदसहित सम्मान र पुरस्कृत गरियो । संस्थाका पूर्व अध्यक्ष स्वर्गीय गणेशप्रसाद बस्नेतको नाममा स्थापित सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई पुरस्कृत गरिएको छ । पुरस्कारको नगद राशि २६ हजार रुपैयाँ रहेको छ ।

यसरी नै १० हजार रुपैयाँ पुरस्कार राशिको स्व. गणेशप्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराईलाई पुरस्कृत गरिएको छ । संस्थाले मेची सहकारी पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मालाई र मेची सहकारी सञ्चारगृह पुरस्कार बिर्तामोडको साझामञ्च मिडिया प्रालिलाई प्रदान गरिएको छ । पछिल्ला दुवै पुरस्कारको राशि जनही ८ हजार रुपैयाँ रहेको छ । संस्थाले आफ्ना ४ जना कर्मचारीलाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।

साधारणसभा समापन कार्यक्रममा प्रदेश सांसद अर्जुन राई, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रदेश १ का निमित्त सहकारी रजिष्ट्रार रामप्रसाद चापागाईं र झापा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तुलाराम न्यौपानेले आ–आफ्ना धारणा राखेका थिए ।

गत साउन २८ गते सार्वजनिक गरिएको वार्षिक प्रतिवेदन क्षेत्रगत रुपमा वितरण गरी सदस्यहरुले उठाएका जिज्ञासाहरुसमेत सम्बोधन गर्दै साधारणसभा समापन गरिएको अध्यक्ष नारायणप्रसाद भट्टराईले बताएका छन् । प्रतिवेदन अध्ययन गरेर संस्थालाई ३२० वटा सुझाव, प्रतिक्रिया र प्रश्नहरु पठाइएकोमा उपयुक्त सुझावहरु मनन गरी चालू वर्षका लागि कार्यक्रम बनाइएको अध्यक्षको भनाई छ ।

संस्थाको वित्तीय विश्लेषणसहितको कारोबार विवरण संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले प्रस्तुत गरेका थिए । साधारणसभाले सदस्यहरुलाई १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरक्षित पुँजी फिर्ता गर्ने निर्णय गरेको व्यवस्थापक बगालेले जानकारी गराए ।

पछिल्लो समय कर्जा लगानीभन्दा बढी रकम संस्थामा निक्षेप बढेकाले यसले सहकारीमा हित नगर्ने प्रष्ट्याउँदै व्यवस्थापक बगालेले बैंक र सहकारीमा हुने फरक यही रहेको जानकारी दिए । गत आर्थिक वर्षमा संस्थाको वासलात एक अर्ब ९३ करोड ३९ लाख ४१ हजार ९५९ पुर्याइएको जानकारी गराउँदै उनले संस्थाले गतवर्ष ६ करोड ५३ लाख ९२ हजार ५१७ रुपैयाँ मुनाफा गर्न सफल भएको जानकारी दिए ।

साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक काँशीनाथ थपलियाले प्रतिवेदन पेश गर्दै संस्थाले गरिरहेका कामहरु विधिसम्मत हुँदै गरेको जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *