अपराधिक घटनामा संम्लग्न व्यक्तिहरुलाई कारबाहीको माग गर्दै सालबारीमा विरोधसभा
Published:
by .अर्जुनधारा । केही समयता झापाको अर्जुनधारामा श्रृङ्खलाबद्धरुपमा विभिन्न स्थानमा यौन हिंसाका घटनाहरु बढेपछि अर्जुनधारा ११ का विभिन्न सामाजिक संघ–संस्थाहरुले अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् ।
समाजमा बिकृति र बिसंगति फैलाउने प्रयास भइरहेको भन्ने कुराप्रति उनीहरुले संयुक्तरुपमा कार्यक्रम गर्दै विरोध जनाएका हुन् । अर्जुनधारा ११ स्थित सालबारीमा आयोजित कार्यक्रममा उनीहरुले संयुक्त विरोधसभा गरेका हुन् ।
उक्त वडामा क्रियाशिल राजनीतिक दलहरु, तिनका भातृ तथा भगिनी संगठनहरु, शैक्षिक एवम् सामाजिक संघ–संस्थाहरुले आइतबार विरोधसभा गरेका हुन् ।
कार्यक्रमका वक्ताहरुले आपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन स्थानीय सरकार, प्रहरी प्रशासनको ध्यानाकर्षण पनि गराएका छन् ।
पारिजात महिला फुटबल संघका अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ने.क.पा.का नगर अध्यक्ष प्रेमसागर सापकोटा, युवा संघका नेता लवकुश गौतम, नेपाली कांग्रेसका प्रतिनिधि गंगाप्रसाद मैनाली, महारानीगञ्ज माविका व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकाललगायतले अपराधीको मनोबल बढ्दै गएकाले अपराधीको पक्षमा लागेर जोगाउनेलाई सामाजिक बहिस्कार गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिला तथा बालिकामाथिको शारिरीक दुव्र्यबहार तथा ज्यादती विरुद्ध नगर क्षेत्रमा शान्ति कायम राख्दै सम्भावित घटनाको रोकथाम र नियन्त्रण गर्ने कार्यमा सम्बन्धित निकाय अग्रसर हुनुपर्नेमा जोड दिए ।
ती संघ–संस्थाहरुले जिल्ला प्रशासन कार्यालय भद्रपुर गएर ज्ञापनपत्रसमेत बुझाएको युवा संघका केन्द्रीय सदस्य पत्युष आजाद रानाले बताए ।
Comments