एनएमसीको विस्तारित बैठक बिर्तामोडमा सम्पन्न
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पदाधिकारी समितिको विस्तारित बैठक आयोजना गरी आर्थिक वर्ष २०७६/०७७ को लक्ष्य र प्रगतिको समीक्षा गरेको छ ।
बिर्तामोडस्थित एनएमसी कार्यालयमा सम्पन्न विस्तारित बैठकमा एनएमसीका अघिल्तिर तेर्सिएका चुनौती र सम्भावना एवम् अवसरहरुका बारेमा खुलेर छलफल गरिएको थियो । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि भइरहेको व्यवसायिक उतारचढाव तथा लक्ष्यमा पुग्न भएका अवरोधहरुका बारेमा कार्यालयगत उपसमिति संयोजकभन्दा माथिल्लो समितिका सबैले छलफल गरेका हुन् ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा प्रशासनिक प्रमुख चेतन शर्मा पौडेलले सञ्चालन गरेको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै सञ्चालक सदस्य विकास उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
सो विस्तारित बैठकमा ४० वटै कार्यालयगत उपसमितिबाट छलफल गरी संयोजित ६ वटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका ६ वटा क्षेत्रीय कार्यालयहरुबाट आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै काँकरभिट्टाबाट बासु कोइराला, बिर्तामोडबाट तोम ओली, भद्रपुरबाट तोम भट्टराईले बैंकिङ व्यवसायको अवसर र चुनौतीका बारेमा बैठकमा राय सुनाए ।
यसैगरी अर्जुनधाराबाट उदयचन्द्र कोइराला, सुरुङ्गाबाट मीनकुमार प्रधान र दूधेबाट गुरुप्रसाद पाठकले क्षेत्रीय प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा संस्थाका ५ वटा व्यवसायको बारेमा समीक्षा गरिएको थियो । संस्थाले सञ्चालन गरिरहेको बैंकिङ व्यवसायका बारेमा व्यवसायगत उपसमिति संयोजक ठाकुरप्रसाद शिवाोटीले, डेरी व्यवसायको विषयमा संस्थाका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायगत उपसमिति संयोजक नारायणप्रसाद कोइरालाले विषयवस्तु प्रकाश पारेका थिए ।
यसरी नै सहकारी पसल व्यवसायगत उपसमिति संयोजक तथा संस्थाका उपाध्यक्ष भगवती घिमिरेले एनएमसी कोप सपको विषयमा र एकीकृत नमूना कषि फार्मको वर्तमान अवस्था, भविष्यका अवसर एवम् चुनौतिका बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।
Comments