Sajhamanch Archive

सांस्कृतिक संस्थान आत्मनिर्भर बन्दैः सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्रको सञ्चालन अब दूरसञ्चार प्राधिकरणले गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच बिहीबार सम्झौता पत्र आदान प्रदान गरिएको हो ।

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सी. एम. ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्यून दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखि नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो । मन्त्री भट्टराईले नयाँ सम्झौत्ताले सांस्कृतिक संस्थान आत्मानिर्भरतर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिएका छन् ।

सी. एम. ट्रेडिङसँगको सम्झौता अनुसार आ.व. २०७७/०७८ सम्म आइपुग्दा प्रति वर्गफिट मासिक २० रुपैयाँमात्र थियो । सोही स्थान नेपाल दूरसञ्चार प्राधिकरणसँग मासिक प्रति वर्गफिट ७० रुपैयाँ भाडादर कायम गरी सम्झौता भएको छ ।

सी. एम. ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.व. २०७७/०७८मा संस्थानले लगभग एक करोड तीस लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दूरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ । १० वर्षे नयाँ सम्झौताअनुसार आ.व. २०८७/०८८ मा संस्थानले प्राधिकरणबाट वार्षिक तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक रहेकोले नयाँ सम्झौता आवश्यक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’ अध्यक्ष अधिकारीले भनेका छन्, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हरेक समस्या समाधानका लागि मेहनत गरिरहेका छौं ।’

सी. एम. ट्रेडिङसँग भएको सम्झौता भंग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग जी टु जी मोडेलमा नयाँ सम्झौता गरेको महाप्रबन्धक अशोकप्यासी राईले जानकारी दिए । ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समीक्षा गर्न जरुरी छ’, उनको भनाई छ ।

गत पुसदेखि कार्यभार समालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पूनरावलोकन गरिने उल्लेख गरेका थिए । ‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्रसमेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ’ महाप्रबन्धक राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *