सिम्रिक साकोसद्वारा दर्जनौं सदस्यलाई उपचार राहत सुविधा प्रदान
Published:
by .झापा । इलामको माई नगरपालिका समेतलाई कार्यक्षेत्र बनाएको झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरु र तिनको परिवारको स्वास्थ्य उपचार खर्च वापत निरन्तर राहत सहयोग प्रदान गरिरहेको छ ।
पछिल्लो निर्णयानुसार गोलधाप सेवा केन्द्र अन्तरगतका सदस्य बालकृष्ण अर्यालका छोरा तथा गोमादेवी अर्यालका भाइ सुजनको पायल्सको शल्यक्रिया गर्दा लागेको खर्चको आधा रकम २० हजार रुपैयाँ प्रदान गरिएको छ ।
यसरी नै भद्रपुर सेवा केन्द्र अन्तरगतका सदस्य अजिफा खातुनको पथरियाको शल्यक्रिया गर्दा लागेको उपचार खर्चको ५० प्रतिशत रकम २३ हजार ६५० रुपैयाँ पनि हस्तान्तरण गरिएको छ ।
संस्थाको मेचीनगर सेवा केन्द्र अन्तरगतका सदस्य सरिता ढकालको किड्नी स्टोन भएकाले शल्यक्रियाका लागि उपचार राहत २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको सेवाकेन्द्र प्रमुख शान्तकुमार बस्नेतले बताएका छन् । यस्तै मेचीनगर सेवा केन्द्रकै सदस्य उमेश थापा क्षेत्रीको पनि किड्नी स्टोनको शल्यक्रिया गरिएकाले ११ हजार २५० रुपैयाँ उपचार सहयोग प्रदान गरिएको छ ।
संस्थाको सदस्य उपचार राहत नीति अनुसार मुख्य कार्यालयबाट स्वीकृति प्रदान गरेपछि सदस्यहरुले राहत पाउने व्यवस्था छ । बनियानी सेवा केन्द्र अन्तरगतका सदस्य सुभद्रादेवी कट्टेलको पाठेघरको उपचार वापत १० हजार १२५ रुपैयाँ, गौरादह सेवा केन्द्रका सदस्य गणेशबहादुर विष्टकी श्रीमतीको एपेण्डिसाइट्सको शल्यक्रियाका लागि ६ हजार ७५० प्रदान गर्ने निर्णय भएको अध्यक्ष कमलबहादुर बस्नेतले जनाएका छन् ।
सिम्रिक साकोसले भद्रपुर सेवा केन्द्र अन्तरगतका सदस्य ललिता श्रेष्ठलाई ६ हजार रुपैयाँ, धुलाबारी सेवा केन्द्र अन्तरगतका सिमा पाठकलाई ३ हजार ८४८ रुपैयाँ, मेचीनगर सेवा केन्द्र अन्तरगतका सदस्य श्रीकृष्ण रसाइलीको आँखा उपचारका लागि तीन हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।
संस्थाको मुख्य कार्यालयबाट प्राप्त जानकारी अनुसार बनियानी सेवा केन्द्रका रत्ना राजवंशीलाई ३ हजार ७५० रुपैयाँ, गोलधाप सेवा केन्द्र अन्तरगतका सदस्य देवीमाया भण्डारीलाई ११८० रुपैयाँ र अजित मुखियालाई एक हजार रुपैयाँ उपचार राहत सहयोग प्रदान गरिएको छ ।
Comments