Sajhamanch Archive

राजगढमा केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा

Published: in अर्थतन्त्र, स्थानीय तह by .

बाह्रदशी । दक्षिणी झापाको बाह्रदशीलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागिपरेका छन् ।

बाह्रदशी गाउँपालिका वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ ।

गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयले आफ्नै ठाउँमा लगानी गर्न शुरु गरेका हुन् । यहाँका एक युवाले फ्युचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालन गरी मिरिफ्रेक्स बाण्डका हेण्डवास, फिनेल, ट्वाइलेट क्लिनर, भाँडा माझ्ने लिक्युड उत्पादन थालेका छन् । २० लाख रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याइएको हो ।

स्थानीय चन्दनकुमार चौधरीले सञ्चालनमा ल्याएको उद्योगको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरिदिएका हुन् । उद्योगको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले गाउँपालिकाले राजगढलाई स्मार्ट सिटी बनाउने उद्घोष गरेसँगै स्थानीयवासीले राजगढको विकासका लागि लगानी गर्न थालेको बताए ।

स्थानीय युवालाई रोजगार दिँदै घरायसी सामग्री उत्पादनमा युवापंक्ति जुट्नु गाउँपालिकाकै लागि गौरवको कुरा भएको अध्यक्ष राजवंशीले बताए । यसअघि राजगढमा सस्तो बजारका नामबाट सुविधासम्पन्न सपिङ मल सञ्चालनमा आएको र यस्तै अन्य उद्योगहरु सञ्चालनमा आए राजगढलाई स्मार्टसिटी बनाउन समय नलाग्ने अध्यक्ष राजवंशीको भनाई छ ।

फ्युचर केमिकल तथा प्याकेजिङ उद्योगले चार जनालाई रोजगारी दिएको बताउँदै आगामी दिनमा प्रदेश १ सहित नेपालका सबै जिल्ला मिरिफ्रेक्स ब्राण्डका सामग्री पुर्याइने सञ्चालक चौधरीको भनाई छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्दै चौधरीले आफूले उत्पादन गरेको सामग्री गुणस्तरीय र उच्चकोटीको रहेको दावी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *