Sajhamanch Archive

डंगोल र लामाको “याद” सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by .

गीतकार गौतम डंगोल “सन्देश” को शब्द रचना एवं हेम लामाको संगीत तथा सुमधुर स्वरले सुसज्जित “याद” बोलको गीत सार्वजनिक भएको छ । “कहिले काहीँ उसलाई पनि मेरो याद आउँदो हो” बोलको गीत मंगलवार गायक तथा संगीतकार हेम लामाको आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतको रेकर्डिङ्ग, मिक्सिङ्ग, मास्टरिङ्ग हेम स्वयंले गरेका हुन् भने रेकर्डिङ्ग भक्तपुरस्थित हेम्स स्टुडियोमा गरिएको हो ।

चर्चामा नआए पनि गीतकार गौतम डंगोल तथा गायक तथा संगीतकार हेम लामा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । गायक तथा संगीतकार हेम लामाले स्वर दिएका एक दर्जन बढी, संगीत संयोजन गरेका २० भन्दा बढी तथा वाद्य संयोजन गरेका ३० भन्दा बढी गीत अडियो तथा भिडियोमार्फत सार्वजनिक भइसकेका छन् । विगत दुई दशकदेखि संगीत विधामा संलग्न हेम गायनका अलावा संगीत सृजना, वाद्य संयोजन तथा रेकर्डिङ मिक्सिङमा पनि दक्खल राख्दछन् । उनी विशेषत नयाँ तथा फरक शैलीका संगीत सृजनामा अभिरूचि राख्दछन् ।

त्यसैगरी मुख्य पेशाका अलावा बचेखुचेका फुर्सदका क्षणलाई लेखन विधामा अर्पेका गीतकार गौतम डंगोलका अनलाइन तथा प्रिन्ट मिडियामा गरी सयभन्दा बढी लेख रचनाहरू प्रकाशित छन् । नेवारी र नेपालीमा कलम चलाउने सन्देश आफ्नो लेखन शैलीलाई ल्याभिस राइटिङ्गको संज्ञा दिन्छन् ।

आफूले लेखेका गीतहरू कम्पोज्ड, अरेन्ज्ड, भोकल्ड, भिजुयलाइज्ड भएर आउँदा निर्जिव शब्दहरूमा जीवन भरिएको उनी आभास गर्छन् । हालसम्म उनका गीतहरूमा दर्जनौं कलाकारले कम्पोज, अरेन्ज तथा स्वर दिएका छन् । “याद“ शीर्षक दिइएको यो गीतलाई मोर्डन पप संगीतको क्याटेगोरीमा राख्न सकिन्छ । पेशाका हिसावले गीतकार सन्देश तथा गायक र संगीतकार लामा दुवै बैंकर हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *