Sajhamanch Archive

कोरोनाको कहरमा बित्यो यसवर्षको दशैंपर्व

Published: in विचार/ब्लग, समाज, स्वास्थ्य, by .

वि. सं. २०७७ सालको दशैं निकै कष्टपूर्ण रहन पुग्यो । असोज २६ गते एनएमसीले कर्पोरेट अफिसका लागि माग गरेको सूचनामा परेका जग्गाहरुको स्थलगत अवलोकनका लागि संस्थाकै दुईवटा गाडी लिएर निस्क्यौं । सुरुङ्गाबाट शुरु गर्ने निधो भयो । सुरुङ्गाबाट खेम मिश्र, विकास उप्रेती, सावित्रा दाहाल, मिनकुमार प्रधान सहभागी हुनुभयो । म, लक्ष्मी सर, नारायण कोइराला काकरभिट्टाबाट र बिर्तामोडबाट डम्बर बस्नेत सहभागी थियौं । उपाध्यक्ष भगवती घिमिरे अस्वस्थ भएकाले सहभागी हुनुभएन ।

दिनभरसँगै भ्रमण गरियो । त्यसको दुई दिन पछि हेरिएका २० वटा जग्गाका बारेमा अवधारणा बनाउन वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा बैठक बस्यौं । स्थलगत अवलोकनमा सहभागी खेम मिश्रबाहेक सबैको उपस्थिति थियो । त्यसबाट ५ वटा जग्गामा केन्द्रित हुने निर्णय भयो । यो बैठकमा मेरो स्वास्थ्य केही असहज थियो । उता लक्ष्मी उप्रेती (भाइ)को स्वास्थ्यमा निकै समस्या देखिएकाले उनी अलि सतर्क बनेर नै बैठकमा सहभागी भए । भाइ लक्ष्मीको स्वास्थ्य प्रतिकूल भएपछि उनीसहित बुहारी मिनाको पिसिआर टेष्ट गरियो । भाइको पोजेटिभ देखियो । उता खेम मिश्र स्वास्थ समस्या देखिए पछि घरमै आराम गरिरहनु भएको थियो । उहाँलाई कोरोना पोजेटिभ भएको सूचना आयो । जग्गाको अवलोकनका लागि सँगै भएका हामी सबै त्रासमा हुने नै भयौं ।

असोज ३० गते शुक्रबार राष्ट्रिय सहकारी विकास बोर्डको बैठक डाकिएको थियो । मेरो यो बोर्डमा नियुक्ति भए पछि एउटा पनि सहभागिता हुन सकेको थिएन । यो बैठकमा सहभागी हुने इच्छा थियो । मन्त्रीको अध्यक्षतामा बैठक हुने र बैठकमा धेरै नै जिम्मेवार मानिसको उपस्थिति हुने अवस्था थियो । त्यसैले मैले २९ गते प्लेनको टिकट बुक गरें । शुक्रबार बिहान जाने र दिउँसोको बैठकमा सहभागी हुने सोच थियो । यता श्रीमती लक्ष्मीको स्वास्थ्यमा २९ गते बेलुकाबाट समस्या झन् बढ्न थाल्यो । मेरो स्वास्थ्य पनि सहज थिएन । त्यसैले मैले काठमाडौ जाने विचार परिवर्तन गरी बोर्डमा स्वास्थ्य प्रतिकुलता रहेको जानकारी गराएँ ।

भाइ लक्ष्मी र खेम मिश्रको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कर्पोरेट कार्यालयमा डरसरी भयो । लक्ष्मी सरको नजिकमा बसेर काम गर्ने एनएमसी स्टाफहरुमा पनि सन्त्रास हुने नै भयो । कात्तिक २ गते खुदुनाबारीमा एनएमसी सहकारी पसलको उद्घाटन गर्ने कार्यक्रम थियो । २५ गते दूधेमा भएको पसल उद्घाटनमा लक्ष्मी सर र मैले पूरा ध्यान दिएका थियौं । २४ गते राति १० बजेसम्म दूधेको पसलमै बसेर हेरेका थियौं । काममा संलग्न सबैको मनोबल बढाउन हामी पनि खटेका थियौं । तर खुदुनाबारीमा त्यसरी समय दिन र खट्न सकिएन । यद्यपि उद्घाटनमा म आउँछु भनें र जाने तयारी गरें । सहकारी पसल व्यवसाय समिति संयोजक भगवतीमा पनि स्वास्थ्य समस्या, सिइओ लक्ष्मी सरमा पनि समस्या भएपछि त्यहाँका साथीहरुको मनोबल उकास्न म जाने निर्णय गरेको थिएँ । यद्यपि म पनि स्वास्थ्य समस्यामा थिएँ ।

खुदुनाबारीको उद्घाटनमा मैले १० मिनेट जतिमात्र बोलें । बोल्दाबोल्दै मलाई बोल्न मुस्किल भएको महशुस भएको थियो । म एकदमै सतर्क भएर कार्यक्रम सकिने वित्तिकै सरासर घर आएँ । चालक सुदास तामाङमा पनि स्वास्थ समस्या देखिएको थियो । ३ गते कात्तिक एनएमसीका तीनजना चालक र अरु तीन जना स्टाफको पिसिआर टेष्ट गर्न बिराटनगर पठाइयो । ४ गते आएको रिपोर्टमा तीनै जना चालक र अरु दुई जनामा कोरोना पोजेटिभ देखियो । श्रीमती लक्ष्मी र मेरो पनि स्वास्थ समस्या कम हुनुको सट्टा बढ्दै गएको थियो ।

म एकदमै सतर्क भएर मेरो स्वास्थ्यका लक्षण र श्रीमती लक्ष्मीमा देखिएका लक्षणलाई नियालिरहेको थिएँ । घरमा एक वर्ष पनि नपुगेकी नातिनी इभा छ । हामीबाट टाढा राख्न पनि सकेनौं । नजिक राख्दा पनि के होला नि भन्ने डर लागिरहने । कोरोना टेष्ट गर्ने साहस पनि ममा भएन । मलाई कोरोना भएमा त्यो लक्ष्मीमा पनि हुने निश्चित जस्तै थियो । उनी बिरामी हुँदा उनको एकदमै समिपमा बसेर उनको हेरचाह गरिरेहेको छु । उनको स्वास्थ्य त्यसै पनि कमजोर छ । स्वास्थ्य समस्या बढेको छ । यस्तोमा मलाई र उनलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएमा उनमा मनोवैज्ञानिक प्रभाव निकै खतरनाक हुने अनुमान गरेकाले टेष्टको आँट गरेको छुइँन । उनी पटकपटक भन्ने गर्थिन मलाई कोरोना भयो भने त अवश्य बाँच्दिन ।

श्रीमती र म कोठाबाट बाहिर निस्कन बन्द गर्यौं । एक दुई दिन नातिनी इभालाई पनि नजिक नल्याउन भन्यौं । ठूली नातिनी आभा त बुझ्ने भएकी छ । अरुमा लक्षण देखिन्छ कि देखिँदैन भनेर निरन्तर खबर लिने काम गरिरहें । संयोग वा भाग्य बलियो भनौं अरुमा त्यस्तो गम्भिर समस्या केही देखिएन । मैले घरमा अक्सिजनको सिलिण्डर मगाएर राखें, पूर्व तयारीका लागि । मेरो शरीर शिथिल भएको थियो । खान मन लाग्दैन थियो । तर पनि खान छाडेको थिइँन । निन्द्रा लाग्थ्यो, सुत्थें । तर ज्वरो आएको थिएन । मुखको स्वाद हराएको थिएन । गुलियो, पिरो थाहा नपाउने अवस्था थिएन । श्वास प्रश्वासमा समस्या थिएन । कोरोना पोजेटिभ भएका मानिसमा १० सेकेण्ड पनि श्वास रोक्न मुस्किल हुन्छ भन्ने सुनेको थिएँ । म अभ्यास गर्थें, म त पूरै एक मिनेट श्वास रोक्न सक्थें । घरमै फर्निचर कारखाना भएको, खाना पकाउने ग्यास सिलिण्डरको बिक्री निरन्तर घरबाटै हुने र पसल पनि सप्तमी कात्तिक ७ गतेसम्म खुल्ने भएकाले चहलपहल बढेको थियो । पूरै रोक्न सकिँदैन थियो । धन्न अरु कुनै स्टाफ र परिवारका सदस्यमा समस्या नदेखिएकाले अरु सामान्य अवस्था जस्तै चल्यो ।

भाइ लक्ष्मीको मनोबल उच्च थियो । तर पनि कोरोनाले उसलाई निकै सतायो । निकै गलायो । तीन दिनसम्म त राति एकदमै गाह्रो भएको जानकारी गरायो । उसको अनुहारले नै उसको सकस बताउन पुग्ने थियो । यद्यपि उ हिजोभन्दा आज अलि राम्रो छ भन्थ्यो । नगरमा एकपछि अरुलाई कोरोना पोजेटिभ भएको खबर लगातार आइरहेको थियो । मौषमी रुघाखोकीको पनि समय परेकाले धेरै मानिस बिरामी थिए । कतिले जँचाए, कतिले जँचाउने काम गरेनन् । भानिज सूर्य र बुहारी एवं एनएमसी उपाध्यक्ष भगवली मैनाली पिसिआर टेष्ट नगरी घरमै आइसोलेसनमा बसेका छन् । नगरका मेयर बिमल आचार्य कोरोना पोजेटिभ भएर पहिले घरमै र पछि अस्पताल भर्ना भएर उपचार गराउँदै छन् । नेपाली कांग्रेस नेता केशव पाण्डे कोरोना पोजेटिभ भएर अस्पतालमा उपचार गराउन पुगे । उनको अवस्था पनि निकै नाजुक भएछ । सहारा नेपाल साकोसका अधिकृत कर्मचारीको कोरोनाबाट निधन भएको खबर छ । दीर्घ रोगी र बृद्धबृद्धामात्रै होइन, युवाहरु पनि कोरोनाको शिकार बनेको समाचार आइरहेको छ । त्यस्तै धेरै मानिस उपचारमा र घरमा नै एकान्तबासमा भएको सूचना निरन्तर थपिएको छ ।

यसपाली दशैंको टिको नलगाउने निधो गरियो । काठमाडौंबाट साइँलो भाइको परिवार पनि आउन सहज थिएन । नआउन भनियो । बहिनी बबितालाई पनि टिका नलाउने भनियो । आमालाई सम्झाउनु थियो सम्झाइयो । बाँचे दशैं त वर्षैंपिच्छे आउँछ नि आमा भन्यौं । आमाले सहजै मान्नु भयो । आमा पनि यो वर्ष निकै कष्टदायक विरामी भएर भर्खर तङ्ग्रिनु भएको थियो । ८५ वर्षकी आमा अर्को वर्ष के हो के को अवस्था छ । तर घरमा टिको उठाएर कसैले लाउने र कसैले नलाउने भन्ने भएन । भाइ लक्ष्मी घरमै एकान्तबास थिए । पुनः टेष्ट गराउने म्याद आएको थिएन । समय नपुगी टेष्ट गराउने कुरा पनि भएन । आमाको स्वास्थ्य सुरक्षाका लागि पनि टिका नलगाउनु उचित ठान्यौं ।

यता घरमा कात्तिक ९ गते सानी नातिनी इभाको जन्मदिन । ठूली नातिनी आभाको जन्मदिन असोज ३० गते भए पनि उसको पनि कात्तिक ९ गते नै एकैचोटी मनाउने निधो भएको थियो । नातिनीको खुसीका लागि पनि जन्मदिन मनाउनु पर्छ । सामान्य तयारी थियो । घरमा लक्ष्मीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको थियो । विगत ८/१० दिनदेखि उनमा खानामा कुनै रुचि छैन । दिशाबाट रगत गएको छ । ज्यान एकदमै शिथिल बनेको छ । दशैंको महानवमी, नातिनीहरुको जन्मदिन मनाउने कुरा छ । लक्ष्मी अघिल्लै दिनदेखि स्वास्थ्य समस्याले पूरै ओछ्यान परेकी छन् । म हरदम उनको नजिकमा बसेर उनैको ख्याल गरिरहेको छु । उनले पनि आँत हारेकी छन् । हत्तपत्त अस्पताल जान नमान्ने उनले मसिनो स्वरमा राति रामबाबु कतै अस्पताल जानुपर्छ कि भनेकी थिइन् । अस्पताल जाने अवस्था थिएन । नातिनीहरुलाई सुतेरै निधारमा अक्षता अर्थात टिका लगाई दिइन् । हाँस्नु र रुनु एकैपटक जस्तो भएको थियो । साँझमा श्रीमती लक्ष्मीको अवस्थामा केही हल्का सुधार भयो । बेलुका आलु उसिनेर खुवाउन सकियो । मैले पनि सँगै बसेर त्यही खाएँ । उनले हिजो दवाई खाएकी थिइनन् । आज आलु र दवाई खाइन् । राति केही सहज भयो । सुतिन् ।

दशैंको मुख्य दिन विजयादशमीको बिहान एक प्रकारले चमत्कार जस्तो नै भयो । लक्ष्मीको स्वास्थमा सुधार भयो । मेरो स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको थियो । उनी सधैं आइतबार पूजापाठ गर्ने र घरमै मन्दिरमा बत्ती बाल्ने गर्थिन् । नवमीमा त्यो सम्भव भएन । तर सोमबार दशमीको दिन उठेर नुहाइवरी पूजापाठ गरिन्, बत्ती बालिन् । मेरो पनि जाँगर बढ्यो । ल घरमा टिका लगाउने भनें । नातिनी इभाको लागि टिकाको पहिलो वर्ष निधार खाली नगरौं भन्ने लाग्यो । सबै खुसी भए । साइतमा मैले श्रीमती लक्ष्मीलाई टिका लगाई दिएँ । त्यसपछि हामीले छोराबुहारी र नातिनीहरुलाई टिका लगाएर यो वर्षको दशैंको टिकाको अन्त्य गर्यौं । अन्यत्र कतै टिका लगाउन गइएन र कोही आउने कुरा पनि थिएन । साँझमा सासूआमा र आमालाई टाडैबाट भेटेर आशीर्वाद माग्न घर पुगें । घरमा भाइ मनोज, बुहारी बिष्णु आएका थिए । भाइ लक्ष्मीलाई पनि निकै राम्रो भएको अवस्था देखियो । आफूले प्रयोग गर्ने गरेको कुर्सी लिएर आए र अलि पर बसेर केहीबेर हामी सबै जनाबीच गफगाफ भए । यसरी २०७७ को दशैं कोरोनाको कहरमा बित्यो । यो लेख समापन गर्दैगर्दा आज १३ गते बिहीबार भाइ लक्ष्मीको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ । उनले फेसबुक टाइमलाइनमा आफ्नो स्वास्थ्य अवस्थाबारेमा रिपोर्टबारे खुलाएका छन् । जे होस् यो पटकको असहजलाई पार लगाइयो । तर कोरोनाको खतरा सकिएको छैन ।

मानिसको सबैभन्दा ठूलो धन भनेको स्वास्थ्य हो भन्ने अनुभुति यो पटक भएको छ । म उमेरले ६१ पूरा गर्न लागेको छु । तर पनि एनएमसीका लागि अभैm धेरै गर्नुछ भन्ने लागि रहन्थ्यो, लागि रहन्छ । अभैm उचाइको उडान उड्न सक्छु भन्ने विश्वास कहिल्यै कम भएको थिएन । तर यो करिव १०/१२ दिन स्वास्थ्यमा देखिएको समस्याले मैले देखेका सपनाहरु मैले कतै अधुरै छाड्नु पर्ने त होइन भन्ने बोध भएको थियो । कुनै एकदिन पनि एनएमसीको पक्षमा ठोस काम गर्न सकिएन भने आजको दिन बेकार भयो जस्तो लाग्थ्यो । तर यो १२ दिनमा स्वास्थ्यको बढी चिन्ता लाग्यो । अब ठिक भएको छु । फेरि केही गर्न सकिन्छ भन्ने आँट पलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *