Sajhamanch Archive

सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान

Published: in समाज, सहकारी by .

बिर्तामोड । झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरालाई प्राथमिकता दिन थालेका छन् । जन्मदेखि मृत्यु पर्यन्त सहकारीको साथ पाउने भएपछि सहकारी संस्थाको सदस्य बन्न पनि मानिसहरुमा आकर्षण बढ्ने गरेको छ ।

यसै शिलशिलामा झापाको उत्कृष्ट १० को सूचिभित्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू कात्तिक महिनामा दशैं अघि र पछि हालसम्म तीन लाख २६ हजार ८३१ रुपैयाँ सामाजिक सुरक्षा खर्च प्रदान गरेको छ ।

कात्तिक १७ गते सोमबारमात्र बिर्तामोड सेवा केन्द्रका सदस्यहरुलाई ७५ हजार रुपैयाँभन्दा बढी रकम प्रदान गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश अधिकारीले बताएका छन् ।

संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतसहितको टोलीले सेयर सदस्यहरु रसम राजवंशीलाई २२ हजार रुपैयाँ र मञ्जु तामाङलाई १३ हजार ९७८ रुपैयाँ उपचार खर्च प्रदान गरेका हुन् ।

यसैगरी, सदस्य उपचार राहत वापत एलिशा गौतमलाई १३ हजार ५०० रुपैयाँ, पुष्पा खनाललाई १३ हजार ३५० रुपैयाँ र अञ्जु भण्डारीलाई १२ हजार ६०० रुपैयाँ घरघरमै गएर नगदै हस्तान्तरण गरिएको हो ।

यसैबीच, संस्थाको दानाबारी सेवा केन्द्रका क्यासियर भूमिका ढकाल अधिकारीको सासू आमाको निधनमा शोक व्यक्त गर्दै संस्थाले किरिया खर्चवापत ३० हजार रुपैयाँ प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहित सञ्चालक तथा कर्मचारीहरु कात्तिक १६ गते बाह्रदशी गाउँपालिका राजगढमा रहेको अधिकारी निवासमा पुगेर समवेदना पत्रसहित काजकिरिया खर्च हस्तान्तरण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *