Sajhamanch Archive

जो बाइडेनलाई नजिकबाट चिनौं : यस्तो छ पहिलो दिनको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएर ह्वाइट हाउसमा प्रवेश गर्ने तर्खरमा छन्। औपचारिक रुपमा परिणाम आइनसके पनि जित सुनिश्चित भएकाले बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि आफूले गर्ने कामको तयारी थालेका छन्। अमेरिकी राजनीतिमा गएको चार वर्षमा डोनाल्ड ट्रम्पले पारेको चिरा बाइडेनले कम गर्ने अपेक्षा गरिएको छ।

कडा प्रतिस्पर्धामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने क्रममा बाइडेनले केही कीर्तिमान समेत भंग गरेका छन्। ७८ वर्षीय बाइडेन राष्ट्रपति निर्वाचित हुने हालसम्मकै वयोवृद्ध नेता बनेका छन्। यसअघि यो कीर्तिमान सन् २०१६ मा ७० वर्षको उमेरमा राष्ट्रपति बनेका ट्रम्पको नाममा थियो। त्यस्तै, तेस्रो प्रयासमा राष्ट्रपति पद सुनिश्चित गरेका बाइडेनले हालसम्मकै सर्वाधिक मत प्राप्त गरेका छन्। यसअघि १९८८ र २००८ मा पनि उनले राष्ट्रपतिमा दाबेदारी प्रस्तुत गरेका थिए। तर, दुवै पटक उनी असफल भएका थिए।

झण्डै ५० वर्ष लामो समय राजनीतिमा बिताएका बाइडेनले आफ्नो जीवनमा ठुल्ठूला पारिवारिक दुखान्त र राजनीतिक आरोहअवरोह झेलेका छन्। उनी २० नोभेम्बर १९४२ मा पेन्सलभेनिया राज्यको स्क्र्यान्टनमा जन्मेका थिए। उनका बुबा कार सेल्सम्यान थिए। तर, १९५० को दशकमा रोजगारी गुमाएपछि उनका बुबा आफ्नो परिवार लिएर छिमेकी राज्य डेलावेयर बसाइँ सरे। बाइडेन त्यसबेला १० वर्षका थिए। बालककालमा भक्भकाउने समस्याका कारण आफूलाई ‘ड्यास’ उपनामले बोलाउने गरिएको तीतो स्मृति बाइडेनसँग छ।

बाइडेनले सन् १९६५ मा युनिभर्सिटी अफ डेलावेयरबाट स्नातक उत्तीर्ण गरेका थिए। त्यसपछि न्युयोर्कको सिराक्युज युनिभर्सिटीबाट कानुनको डिग्री लिए। आफू मध्यमवर्गबाट आएको र आइभी लिगको उत्पादन नभएकोमा बाइडेन गर्व गर्ने गर्छन्। १९६६ मा निलिया हन्टरसँग उनको विवाह भयो। यो दम्पतीबाट तीन सन्तान जन्मिए।

अध्ययनपछि वकिलका रुपमा काम गर्न डेलावेयर फर्केका बाइडेन राजनीतिमा लागे। न्यु क्यासल काउन्टी परिषदमा १९७० देखि १९७२ सम्म उनले काम गरे। १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटर चुनिए। त्यसको एक महिना नबित्दै उनकी पत्नी र एक वर्षीया छोरी कार दुर्घटनामा मारिए। उनका दुवै छोरा गम्भीर घाइते भए।

त्यसबेला बाइडेन वासिङ्टनमा सिनेटरको नयाँ अफिस सजाउँदै थिए। अचानक फोनमा उनले निलियाको दुर्घटनाको खबर सुने। दुर्घटनापछि उनले सिनेट पद त्याग्ने सोच बनाए। जबकि उनले शपथ समेत लिएका थिएनन्। ‘कसरी कुनै व्यक्ति जानाजान आत्महत्या गर्ने निर्णय लिन्छ, जीवनमा पहिलो पटक मैले थाहा पाएँ,’ बाइडेनले पछि भनेका छन्। ‘मैले व्यक्तिगत रुपमा चिनेकामध्ये बाइडेन सबैभन्दा दुर्भाग्यशाली र सबैभन्दा भाग्यमानी व्यक्ति हुन्,’ बाइडेनका मित्र टेड कौफम्यानले भनेका छन्।

यो वियोगका कारण बाइडेनले राजनीतिक जीवन नै त्याग्ने सोच बनाएका थिए। तर, ६ महिनाका लागि मात्र प्रयास गर्ने भनेर निकटस्थहरुले सम्झाएपछि उनले पत्नीवियोगको दुई सातापछि शपथ लिए। त्यसपछि लगातार ६ कार्यकाल उनी डेलावेयरको सिनेटर चुनिए।

दुर्घटनामा घाइते भएका दुई छोरालाई उनले हुर्काए। जसमध्ये बौ बाइडेन राजनीतिमा लागेर डेलावेयरको न्यायाधिवक्ता बने। तर, सन् २०१५ मा ४६ वर्षको उमेरमा ब्रेन क्यान्सरका कारण उनको मृत्यु भयो।

बाइडेनका अर्का छोरा हन्टर अल्कोहल र लागूऔषध दुर्व्यसनका कारण २०१४ मा अमेरिकी नौसेनाबाट बर्खास्त भए। लगत्तै उनी आफ्ना पिता उपराष्ट्रपति भएकै बेला युक्रेनको एक तेल कम्पनीको बोर्ड सदस्य बनेका थिए। त्यसबेला उनले भ्रष्टाचार गरेको आरोप ट्रम्पले चुनावी अभियानका क्रममा लगाएका थिए।

सन् १९७५ मा बाइडेनको भेट जिल ज्याकोब्ससँग भयो। उनी आफ्ना पहिलेका पतिसँग सम्बन्धविच्छेदको प्रक्रियामा थिइन्। १९७७ मा बाइडेनले आफूभन्दा ८ वर्ष कान्छी जिलसँग विवाह गरे। १९८१ मा उनीहरुको एक छोरी जन्मिइन्।

सिनेटरका रुपमा बाइडेनले मुख्यगरी विदेश नीति, न्याय र लागूऔषधसम्बन्धी नीतिमा बढी ध्यान दिए। सिनेटको फरेन रिलेसन्स कमिटीमा उनी दुई कार्यकाल प्रमुख रहे। सिनेटरका रुपमा ३० वर्ष कार्यरत रहँदा बाइडेनले विपक्षीसँग पनि गठबन्धन कायम गर्नसक्ने नेताको छवि बनाए। जसका कारण उनी आलोचनाको सिकार समेत बने।

१९७० को दशकमा उनले रंगभेदीहरुसँग पनि सहकार्य गरेको तथा १९९० को दशकमा अश्वेतहरुमाथि ज्यादती गर्न सघाउ पुर्‍याउने कानुन बनाएको विषयमा पार्टीभित्रै उनको आलोचना हुने गरेको छ। उनले हालै त्यसमा आफ्नो गल्ती पनि स्वीकार गरेका छन्। सन् २००३ मा इराक आक्रमणको पक्षमा उनले मत दिएका थिए।

सन् १९८८ को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने प्रयास गरेका थिए। तर, उनको भाषणको केही अंश बेलायतको लेबर पार्टीका नेता निल किन्नकको भाषणबाट चोरिएको सार्वजनिक भएपछि उनले सो अभियान त्यागे।

सन् २००८ मा पनि राष्ट्रपति बन्ने उनको प्रयास सफल भएन। सो वर्षको जनवरीमा भएको आयोवा ककसमा पाँचौँ स्थान मात्र हात पारेपछि उनी पछि हटे। तर, उम्मेदवार बनेपछि ओबामाले बाइडेनलाई उपराष्ट्रपति बनाउने घोषणा गरे। त्यसपछि लगातार ८ वर्ष उनी अमेरिकाको उपराष्ट्रपति रहे।

बाइडेनलाई ‘मिडिल–क्लास जो’ उपनामले बोलाउने गरिएपनि वास्तवमा उनी करोडपति हुन्। खासगरी उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनको सम्पत्ति बढेको छ। महंगो पुस्तक सम्झौता र प्रचार यात्रामार्फत उनले त्यसयता डेढ करोड डलरभन्दा बढी कमाएको बताइएको छ।

डेलावेयरमा रहेको उनका दुई वटा घरको मूल्य ४० लाख डलर रहेको फोर्ब्सले जनाएको छ। उनले प्रतिभाषण ४० हजार डलरदेखि १ लाख ९० हजार डलरसम्म लिएका छन्।

यस्तो छ पहिलो दिनको तयारी

ट्रम्पको नेतृत्वमा अनिश्चयमा फसेको अमेरिकामा बाइडेनले आफूलाई भरपर्दो र अनुभवी नेताका रुपमा उभ्याएका छन्। तर, मध्यपन्थी नेताको छवि बनाएका बाइडेनका लागि आगामी दिन निकै चुनौतीपूर्ण छन्।

कोरोना भाइरस रोकथामका लागि ट्रम्पले अपनाएको नीतिको उनले आलोचना गरेका छन्। बाइडेनले कोरोना परीक्षण र खोप सहज र निशुल्क उपलब्ध गराउने बताएका छन्। त्यसैले जनवरीमा सत्ता सम्हालेपछि उनका लागि पहिलो चुनौती भनेको कोरोना भाइरस नियन्त्रण र त्यसले गरेको आर्थिक क्षति न्यूनीकरण नै हो। स्वास्थ्य सेवालाई सहज र सस्तो बनाउने बताइरहँदा उनी बर्नी स्यान्डर्सले अघि सारेको ‘मेडिकेयर फर अल’ को विपक्षमा उभिएका छन्।

घरेलु राजनीतिमा ट्रम्पको छापलाई मेटाउनु बाइडेनका लागि अर्को प्रमुख चुनौती हुनेछ। ट्रम्पले सन् २०१६ को भन्दा बढी मत प्राप्त गरेका छन्। ल्याटिनो र अफ्रिकन अमेरिकनहरुमा उनको प्रभाव झनै बढेको छ। झण्डै आधा जनसंख्याले उनको उग्र नीतिलाई समर्थन गरेको छ। सिनेट पनि रिपब्लिकनहरुको नियन्त्रणमा हुँदा बाइडेनले आमूल सुधारका कार्यक्रम अघि बढाउन सक्ने छैनन्।

राष्ट्रपति ट्रम्पले अमेरिका फर्स्टको नीति अघि सारेर गएको चार वर्षमा सहयोगी मुलुकहरुसँगको सम्बन्धमा पनि जटिलता ल्याएका छन्। ट्रम्पले अनेकौँ महत्वपूर्ण सन्धिसम्झौता भंग गर्ने, अन्तर्राष्ट्रिय सहकार्यबाट बाहिरिनेजस्ता काम गरेर अमेरिकी छविमा ठूलो धक्का लगाएका छन्। विश्वमा अमेरिकाको नेतृत्वदायी भूमिकालाई पुनस्र्थापित गर्ने बताएका बाइडेनले विदेशनीतिलाई कसरी सही मार्गमा ल्याउँछन्, धेरैका लागि चासोको विषय बनेको छ।

हालै पेरिस जलवायु सम्झौताबाट औपचारिक रुपमा अमेरिका बाहिरिएको छ। लगत्तै बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन सो सम्झौतालाई पुनः अनुमोदन गर्ने घोषणा गरेका छन्। त्यस्तै इरानसम्बन्धी आणविक सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णयलाई पनि बाइडेनले उल्ट्याउने अपेक्षा गरिएको छ।

‘ट्रम्पको ‘अमेरिका फर्स्ट’ भनेको ‘अमेरिका एक्लै’को नीति हो,’ बाइडेनका विदेशनीति सल्लाहकार ब्रायन म्याकिअन भन्छन्, ‘आफ्नो कार्यकालको पहिलो दिन नै बाइडेनले प्रमुख मित्र मुलुकहरुलाई फोन गरेर अमेरिका सामान्य अवस्थामा फर्केको र उनीहरुलाई आफ्नो साथसहयोग रहेको सन्देश दिनेछन्।’

तथापि अमेरिकाको विदेशनीतिलाई सबैभन्दा बढी प्रभावित गर्ने मुलुक यतिबेला चीन र रुस हुन्। बढ्दो रणनीतिक, आर्थिक, प्राविधिक टक्करमाझ यी मुलुकसँगको सम्बन्धलाई नयाँ स्वरुप दिन बाइडेनका लागि सम्भव देखिँदैन। बरु, उनले चीनप्रतिको वर्तमान अमेरिकी नीतिलाई निरन्तरता दिने सम्भावना ज्यादा देखिएको विश्लेषकहरु बताउँछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *