बिएण्डसी अस्पतालमा मुटुको सम्पूर्ण उपचार क्याथल्याव सेवा सञ्चालन, ट्रन्सप्लान्टको तयारी
Published:
by .बिर्तामोड । प्रदेश १ कै गहनाका रुपमा परिचय बनाउँदै लगेको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पतालले मुटु रोगीको सम्पूर्ण उपचारका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल प्रशासनले शनिबार पत्रकार सम्मेलन गरेर यसै हप्तादेखि क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको र ५–६ जनाको उपचार पनि सुरु गरिएको जनाएको हो ।
अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा उमेश यादवले मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उद्दश्यले क्याथल्याव सेवा सञ्चालनमा ल्याएको बताए । डा. यादवले मुटु रोगीहरुको उपचार विधिका बारेमा लामो ब्रिफिङ गर्दै मुटुको दुखाइको अवस्था विचारेर अस्पताल गइहाल्नु पर्ने वा केही दिनभित्रमा जाँच गर्नुपर्ने भन्ने बिरामीले नै तय गर्न सक्ने जानकारी गराए ।
मुटुरोगीको गुणस्तरीय उपचार सेवा प्रवाहका लागि भारतको चेन्नाईबाट ल्याइएका डा. अवनकुमार र उनको पाँचजनाको टिमले काम थालिसकेको बताइएको छ । डा. अवनकुमारको परिचय गराउँदै डा. यादवले बि एण्ड सीको क्याथल्याव नेपालकै उच्च प्रविधियुक्त र सुविधासम्पन्न भएको अवगत गराए ।
अस्पतालले आगामी २ वर्ष भित्रमा मुटु प्रत्यारोपणसमेत गर्नेगरी तयारी थालेको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बताएका छन् । ‘अब मुटुका विरामीले उपचारका लागि भारतको दिल्ली, भेलोर वा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य हुनेछ’ अस्पतालका कार्यकारी निर्देशक प्रसाईले दावी गरेका छन् । करिव ५० करोड रुपैयाँको लगानीमा क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको जानकारी गराउँदै कार्यकारी प्रमुख प्रसाईंले करिव तीन वर्षदेखि डाक्टरहरुसँग सम्पर्क गरी अस्पतालमा सेवा प्रवेश गराउन सफल भएको बताए ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजीले अस्पतालले प्रवाह गर्ने गुणस्तरीय सेवाका बारेमा सञ्चार माध्यमले सदैव समारात्मक सहयोग गरेको बताए ।
कार्यक्रममा भारतको चेन्नईबाट आएका मुटुरोग विशेषज्ञ डा. अवनकुमारले १० वर्षदेखि आफूले मुटु ट्रान्सप्लान्टको अनुभव संगालेकोले बि एण्ड सीको व्यवस्थापन पक्षको सकारात्मक उर्जा भर्न आफू यहाँ आएर सेवा दिन थालेको बताए । जहाँ दूरदर्शी सञ्चालक रहन्छन्, त्यहाँ रहेर काम गर्दा आफ्नो क्षमता पनि विकास हुने भएकाले ‘चेन्नई फोर्टिज’ छाडेर यहाँ सेवा गर्न आएको डा. अवनकुमारको भनाई छ ।
मुटुरोगको उपचार सुरु भएको जानकारी पाएपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले दुई दिन अघिबाट सेवा लिन पाएको जानकारी दिँदै काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको साझामञ्चलाई बताए । ‘अचानक मुटुमा समस्या भएपछि यहाँ भर्ना भएँ, उपचार सेवा राम्रै रहेको पाएँ’ कोइरालाले बताए ।
Comments