दरौंदीको पानी गोरखा बजारसम्म पुर्याउने आयोजना सम्पन्न गरिँदै
Published:
by .गोरखा । दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पुर्याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिव ९८ प्रतिशत सकिएको जनाएको हो । दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडादेखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पुर्याउन उक्त आयोजना सञ्चालन भएको हो ।
विशेषगरी दरौंदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पुर्याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । दरौंदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजार दरबारसम्म पानी पुर्याईएको आयोजना कार्यालयले जनाएको छ । दरौंदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार)सम्म पानी तानेर गोरखा बजारमा पुर्याईएको आयोजना प्रमुख देवेन्द्रकुमार झाले बताएका छन् । उक्त आयोजनाबाट करिव साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाई छ ।
गोरखा नगरपालिकाको सो क्षेत्रमा ४ हजार ८५३ निजी धाराहरु जडान भइसकेको जनाइएको छ । सो खानेपानी आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड ८ लाख १० हजार रुपैंयाँ रहेको छ । आयोजनाका प्रमुख झाका अनुसार स्थानीय व्यक्तिहरुले विद्युतको काममा अवरोध गरेकाले केही समय काम ढिला भए पनि अब आयोजनाको काम पुस मसान्तभित्र सकिने छ । पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काममात्र बाँकी रहेको आयोजना प्रमुख झाको भनाई छ ।विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले बताए ।
सो आयोजना गोरखा जिल्लाकै एक नमूना र बृहत आयोजना हुने बताइएको छ । गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ वर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब ३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्याङ्की मार्फत खानेपानी वितरण हुनेछ ।
Comments