इन्टरनेटको सेवाको गुणस्तरमा ध्यान दिन सेवा प्रदायकलाई सञ्चारमन्त्री गुरुङको निर्देशन
Published:
by .काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई सचेत गराएका हुन् ।
‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ,’ सोमबार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने, ‘सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’
हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई गर्न नहुने उनले प्रष्ट पारेको सञ्चारमन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले पठाएको इमलेमा उल्लेख छ ।
मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताउँदै चीन, भारत, दक्षिण कोरिया लगायतका मुलुक सूचना प्रविधिको विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै सोबाट सिकेर प्रविधिको विकास हुने गरी १० वर्षे कार्य योजना बनाएर अघि बढन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गरेका छन् ।
Comments