Sajhamanch Archive

किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by .

कारण कोः जनप्रतिनिधि कि नगरपालिकाका कर्मचारी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको छ ।

मुलुकका ७७ वटा जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सम्भवतः मेचीनगर नै रहेको अहिले चर्चा छ ।

स्थानीय तहको निर्वाचन हुनुअघि २०७२ साल भदौ ३ गतेदेखि पशुपति खतिवडाले मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कमाण्ड सम्हालेको तीन महिना हाराहारीमा २०७४ साल कात्तिक ७ गते उनको बिर्तामोड नगरपालिकामा सरुवा भयो । कात्तिक ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका पुरुषोत्तम सुवेदीको पनि ७ महिना १५ दिनपछि २०७५ साल जेठ २३ गते सिन्धुलीको कमलामाई नगरपालिकामा सरुवा गरियो ।

२०७५ जेठ २५ मा कमलामाई नगरपालिकाबाटै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका सहदेव रायमाझीलाई पनि दुई महिना नबित्दै सरुवाको पत्र आएको छ । उनलाई इलाम नगरपालिकामा सरुवा गरिएको पत्र साउन २४ गते प्राप्त भइसकेको छ । अधिकृत रायमाझीलाई प्रतिस्थापन गर्न इलाम नगरपालिकाका प्रशासकीय अधिकृत महेन्द्र ख्यामलुङ्ग आउने बुझिएको छ ।

यो हेरफेरको स्थितिलाई हेर्दा मेचीनगर नगरपालिकामा एकजना प्रमुख प्रशासकीय अधिकृत सरदर तीन महिनामात्र जिम्मेवारीमा रहेको देखिन्छ । छोटो समयमा प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भइरहँदा नगरपालिकाको दैनिक कार्य सम्पादन र विकास निर्माणका काममा समेत असर पुगिरहेको जनप्रतिनिधिहरुको भनाई छ ।

वडानम्बर ५ का अध्यक्ष योगेन्द्र थापा ‘प्रमुख प्रशासकीय अधिकृतको यस्तो सरुवाको शृङ्खलाले नगरका विकास निर्माणका काम, स्थानीयबासीले पाउने सेवा सुविधा सबैमा असर पुगिरहेको’ बताउँछन् ।

नगरपालिकामा कार्यरत एकजना कर्मचारीले नाम उल्लेख नगरीदिन आग्रह गर्दै भनेका छन् ‘केही कोही कर्मचारीकै कारण यहाँ लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिइएको हो ।’

उनी थप्छन् ‘नगरपालिकाले नियुक्त गरेका कर्मचारी र निजामति कर्मचारीबीचको आपसी द्वन्दका कारण यहाँ कुनै पनि प्रशासकीय अधिकृत लामो समयसम्म टिक्ने अवस्था देख्दिन ।’

उनले तीनजना कर्मचारीको नामै किटेर भने ‘उहाँहरुलाई के पुग्दैन र निजामति कर्मचारीलाई टिक्न दिनुुहन्न, तपाईंहरुले पनि खोजीनीति गरिदिनु पर्यो ।’

समाचार स्रोतका अनुसार लामो समयदेखि मेचीनगरमा कार्यरत केही कर्मचारीहरुको ‘सिण्डीकेट’ र घमण्डका कारण यस्तो समस्या आउने गरेको हो । स्रोत भन्छ, ‘उनीहरु प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो वहसमा राख्न खोज्ने तर, प्रमुख प्रशासकीय अधिकृत उनीहरुको भनाईमा नलाग्ने भएकै कारण बरु बेलैमा सरुवा मिलाएर जान खोज्छन् र भएको पनि यस्तै छ ।’

जननिर्वाचित प्रमुख–उपप्रमुखलाई मात्र होइन, प्रत्येक जनप्रतिनिधिलाई घुमाएर आफ्नो स्वार्थ पूरा गर्ने केही कोही कर्मचारीका कारण यस्तो अवस्था सिर्जना भएको समाचार स्रोतको दावी छ ।

प्रमुख प्रशासकीय अधिकृतको निरन्तर सरुवा र हेरफेरको विषयमा नगरप्रमुख विमल आचार्यको छुट्टै तर्क छ । ‘यसमा स्थानीय सरकारको कुनै भूमिका हुँदैन’ नगरप्रमुख आचार्य भन्छन्, ‘प्रमुख प्रशासकीय अधिकृतको सरुवा वा हेरफेरमा स्थानीय तहको कुनै भूमिका रहँदैन तर, यसरी जिम्मेवारी सम्हालेको छोटो अवधि मै सरुवा तथा हेरफेर हुँदा चाहिँ कार्यालयको प्रशासनिक र विकास निर्माणका काममा असर पुगिरहेको छ ।’

‘संघीय, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन तथा कर्मचारीको व्यवस्थापनका कारण यति छिटोछिटो प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको हुनसक्छ । यो सबै काम सम्बन्धित मन्त्रालयले गर्छ’ नगरप्रमुख आचार्यले भनेका छन् ‘यसमा नगरपालिका भित्र कुनै आन्तरिक समस्या छैन ।’

यद्यपी, नगरपालिकातर्फबाट सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको र अब आउने प्रमुख प्रशासकीय अधिकृत कम्तीमा पनि २ वर्षसम्म यहाँ रहने वातावरण बन्ने कुरामा आफू विश्वस्त रहेको आचार्यको भनाई छ ।

नगरका जनप्रतिनिधि र कर्मचारी जनता कै काम गर्न आएको बताउँने नगरप्रमुख आचार्य ‘कर्मचारी पनि स्थानीय सरकारको नियम, अनुशासन र परिधिमा बस्नुपर्छ’ भनी थोरै ‘थ्रेट’ पनि गर्न पछि हट्दैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *