काँकरभिट्टा प्रहरीलाई मिडियामैत्री बनाउने डिएसपी थापाको प्रतिवद्धता
Published:
by .मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक महेश थापाले आफ्नो कार्यकालमा इप्रकालाई मिडिया मैत्री बनाउने प्रतिवद्धता जनाएका छन् ।
मिडिया भनेको समाजको ऐना हो, जसरी ऐनामा सबैकुरा पारदर्शी देखिन्छ, त्यसरी नै आफ्नो कार्यकालमा इप्रकामा हुने सबै कार्य मिडियामार्फत सार्वजनिक गर्दै मिडियामैत्री इलाका प्रहरी कार्यालय बनाउने उनको घोषणा छ ।
प्रहरी प्रधान कार्यालयबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हाल्न एक साताअघि यहाँ आएका प्रनाउ थापाले शुक्रबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
आफूले लामो समयसम्म ट्राफिक प्रहरी कार्यालयमा काम गरिसकेको, अनुसन्धानमा समेत जिम्मेवारी निभाएकाले यस विषयमा अनुभव भएका कारण यस क्षेत्रको अस्तव्यस्त पार्किङलाई व्यवस्थित बनाउने, सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा यथेष्ट भूमिका निर्वाह गर्ने लगायतका विषयमा आफू प्रतिबद्ध रहने उनले सार्वजनिक विश्वास दिलाएका छन् ।
उनले मेचीनगरमा देखिएको विसंगति विकृति अन्त्यका लागि पत्रकारहरुको सहयोगको आवश्यकता रहेको पनि औंल्याए । पत्रकार र नागरिकहरुले पनि आफूलाई विना बर्दीको प्रहरी झैं ठानेर बर्दीको प्रहरीलाई सहयोग गर्न सबैमा प्रहरी नायव उपरीक्षक थापाले आग्रह गरेका छन् ।
आफ्नो कार्यक्षेत्रको सबैभन्दा ठूलो समस्या जंगली हात्तीको पीडा, लागूऔषधको अवैध कारोबार रहेको र यसको समाधानमा पत्रकारले स्थानीय प्रशासनलाई खुलेरै सहयोग गर्नुपर्ने आवश्यकता सुनाए ।
Comments