Sajhamanch Archive

‘नेकपा फुट्दा यो देशको भाग्य फुट्छ’ मन्त्री भट्टराई

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेश भट्टराईले मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता अपरिहार्य हुने जिकिर गरेका छन् । ‘नेकपा फुट्दा यो देशको भाग्य फुट्छ’ नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेता भट्टराईले पहिलो संविधानसभा भंग हुँदाको स्थितिलाई सम्झन पनि आग्रह गरेका छन् ।

झापाको बिर्तामोडमा स्थापित सिद्धार्थ होटल ग्राण्ड सीटी प्रालिको उद्घाटन गर्न बोलाइएका मन्त्री भट्टराईले भने, ‘आज काठमाडौंमा भइरहेको सचिवालय बैठकले विवाद मिलाउन नसकेमा स्थायी कमिटी बैठकले निर्मम कदम चाल्नेछ ।’ उनले भनेका छन्, बैठकमा साझा प्रतिवेदन लिएर आउनुस् होइन भने स्थायी कमिटीले अर्को राजनीतिक प्रतिवेदन ल्याएर अघिल्ला दुवै खारेज गरिदिनेछ । नेकपाले यो संकट यही महिनाभित्र पार लगाउँछ र सुपर फास्ट दौडँदै जिन्दगीलाई केही सहज बनाउने नेता भट्टराईको विश्वास छ ।

नवस्थापित सिद्धार्थ होटल थ्री स्टारको स्ट्याण्डरमा रहने र ५१ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमीङ पुल, हेल्थ क्लव, खुल्ला बगैंचा, सेमिनार हल रुफटपसहित छुट्टाछुट्टै ५ वटा रेष्टुरेन्ट रहेको बताइएको छ । बिर्तामोड ४ मा स्थापना गरिएको होटलले पूर्वको पर्यटन प्रर्वधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटलका अध्यक्ष देवीप्रसाद मैनालीको विश्वास छ ।

होटल उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडी, प्रदेश सांसद एकराज कार्की, उद्योग परिसंघ झापाका अध्यक्ष मीनप्रकाश मैनाली, बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले पर्यटन प्रर्वद्धनमा होटलको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । उनीहरुले होटल र पर्यटन व्यवसायीलाई सरकारले राहत दिनु पर्ने मागसमेत गरेका छन् ।

५० करोड रुपैयाँको लगानीमा स्थापित सिद्धार्थ होटल ग्राण्ड सिटी थ्री स्टारको स्ट्याण्डरमा रहने गरी स्वीकृति लिइने चरणमा रहेको बताइएको छ । नाफा आर्जन गर्नेमात्र नभई पूर्वमा पर्यटन प्रवर्धनका लागि समेत होटल सञ्चालनमा ल्याइएको सञ्चालकहरुको भनाई छ । होटलको सम्पूर्ण हस्पिटालिटी म्यानेजमेन्ट सिद्धार्थ विजनेश ग्रुपअफ हस्पिटालिटीले गर्ने भएको छ ।

सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले होटल व्यवसाय पर्यटन प्रवर्धनको मेरुदण्ड भएको बताउँदै होटलले चौबिसै घण्टा सेवा प्रवाह गर्ने र स्तरीय हस्पिटालिटीको अभावमा अब कसैले पनि खान र बस्नका लागि समस्या भोग्नु नपर्ने दावी गरेका छन् ।

होटलमा १० जनाको लगानी रहेको बताइएको छ । होटल सञ्चालनका लागि देवीप्रसाद मैनाली, गोपालप्रसाद मैनाली, डा लक्ष्मीप्रसाद मैनाली, डिल्लीराम मैनाली, होम पाण्डे, चित्र कुइँकेल, कालिदाश देवकोटा, होमप्रसाद मैनाली, सुमन्ता मैनालीको लगानी रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *