Sajhamanch Archive

चन्द्रगढी विमानस्थल बिस्तार गर्दा डिपिआर अनुसारकै गर्न स्थानीयको माग

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । चन्द्रगढी विमानस्थल सहयोग समिति भद्रपुरले नेपाल सरकार र मातहतको निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेर गुरुयोजना अनुसारकै भौतिक संरचना निर्माण गर्न माग गर्दै झापाका राजनीतिक दलहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल सरकार र प्राधिकरणले सन् २०२० देखि २०३० सम्ममा लागू हुनेगरी अन्तर्राष्ट्रिय स्तरको मध्यम तहको अत्याधुनिक विमानस्थल निर्माण गर्न यसअघि नै डिपिआर तयार पारिसकेको छ । डिपिआर विपरित चन्द्रगढी विमानस्थलको दक्षिणी भागमा भौतिक संरचना नबनाउन भन्दै संघीय समाजवादी पार्टीले माग अघि सारेपछि डिपिआर अनुसारकै विमानस्थल निर्माण गर्न सहयोग समितिले माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

हिराप्रसाद पोखरेलको नेतृत्वमा गठित सर्वपक्षीय समितिले सोमबार नेपाली कांग्रेस झापाका सभापति उद्वव थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै विमानस्थल निर्माण हुँदा समग्र भद्रपुरबासी र झापाकै विकास हुने बताउँदै डिपिआर अनुसारकै विमानस्थल निर्माणमा समन्वयकारी भूमिका खेलिदिन आग्रह गरेका छन् । पोखरेलको नेतृत्वमा रहेको सो टोलीमा राजेन्द्र रिजाल, दुर्गाप्रसाद भटराई, निरज पोखरेल, लोकनाथ भटराई लगायतको सहभागिता थियो ।

सभापति थापाले उक्त डेलिगेशनलाई स्वागत गर्दै यसअघि एकपटक भद्रपुर विमानस्थल निर्माणका लागि डिपिआर तयार गर्ने विषयमा राजनीतिक दलहरुसँग छलफल भएको स्मरण गर्दै कार्यान्वयनमा ल्याउन पहल गर्ने आश्वासन दिएका छन् ।

राजनीतिक दलहरुलाई प्रदान गरिएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले विमानस्थलको रन–वे को लम्बाई, चौडाई, टर्मिनल भवन, सुरक्षा जाँच, यात्रु विश्रामकक्ष बनाउने कार्ययोजना बनाइरहँदा स्थानीयको साथ नलिएकोमा गुनासो गरिएको छ । ‘डिउटी फ्रि पसल, रेष्टुरेन्ट, अत्याधुनिक पार्किङस्थल, प्लेन राख्ने हेङ्गर, नमाज स्थल, झापाको कलाकृति झल्काउन सक्ने स्थल, पार्किङ क्षेत्र, इन्धन डिपो, सुरक्षित क्षेत्र, विमानको क्षमताभार, गार्डेनिङ क्षेत्र, अधिग्रहण गर्दा लाग्ने शुल्क, अधिग्रहण प्रक्रिया, सुरक्षित र भरपर्दो बनाउन स्थानीयबासी, स्थानीय सरकार, जनप्रतिनिधि र सरोकारवाला समेतलाई संलग्न गराएको भए अझ सान्दर्भिक हुन्थ्यो’ झापाका राजनीतिक दललाई सहयोग समितिले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नागरिक उड्डयन प्राधिकरणले दशकौंका लागि प्राविधिक रुपमा तयार गरेको गुरुयोजनालाई सफल बनाउनुपर्ने दायित्व आम नेपाली जनताकै हो भनी ध्यानाकर्षण गराइएको छ ।

हालको डिपिआर कार्यान्वयनमा नल्याउँदा मेची रङ्गशाला लगायतका भौतिक संरचना तथा सरकारी संरचनाहरु समेत ध्वस्त हुने, मुआवजा लगायतको दोहोरो भार पर्ने उल्लेख गरिएको ध्यानाकर्षण पत्रमा डिपिआर कै आधारमा भौतिक संरचना निर्माण गर्न पुनः आग्रह गरिएको छ । प्राधिकरणले तयार गरेको डिपिआरको आधारमा भौतिक संरचना निर्माण गर्दा विमानस्थलको उत्तरतर्फ ५०० मिटर, दक्षिणतर्फ र पश्चिमतर्फ ८००/८०० सय मिटर बढ्ने अनुमान गरिएको समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *