सरकारले देवानी संहिताको दुरुपयोग गर्नसक्ने सिटौलाको आशंका
Published:
by .भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले परिवर्तित मुलुकी ऐनको देवानी संहिताको दुरूपयोग गरी विपक्षी आवाज नियन्त्रण गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
भद्रपुरमा प्राध्यापक, वकिल, पत्रकारलगायत स्थानीय बुद्धिजीविसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकी ऐन सामान्य कानुन भए पनि संशोधित संहितामा बेलगाम सरकार कठोर बन्न चाहँदा विपक्षीको आवाज दविन सक्ने शंका व्यक्त गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक व्यवस्थासहितको जनपक्षीय स्वरूपको वर्तमान संविधानमाथि गएर सरकारले सामान्य कानूनलाई महत्व दिन थाले स्वतन्त्र न्यायालय तथा सञ्चारसमेत अतिक्रमणमा पर्नेछ’ नेता सिटौलाले दावी गरेका छन् ।
गएको वर्ष साउनमा उनीसहित नेपाली कांग्रेसको बहुमत सांसदहरु रहेको व्यवस्थापिक संसदले पारित गरेको संहिता यही भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदा नेता सिटौला यस्तो आलोचना गर्न थालेका छन् ।
सञ्चार जगत सत्तापक्षका लागि पहिलो प्रतिपक्ष भएको भन्दै सिटौलाले जनजागरणका लागि खबदरारी गर्ने बेला आएको पनि बताएका छन् ।
काँग्रेस पार्टी भित्र सानातिना आन्तरिक समस्या देखिए पनि देश र जनताको अगाडि यस्ता समस्या सामान्य रहेको तर्क गरे । उनले आपसी छलफलपछि काँग्रेसको माथिल्लो तहमा भएका समस्या हल हुँदै जाने भन्दै नागरिक अधिकार रक्षाका लागि मेची महाकाली अभियानमा पार्टी लागेको प्रष्ट पारे ।
दुई तिहाईको दम्भमा सरकार पार्टीको मात्र बन्ने अवस्था देश र जनताका लागि हितकर हुन नसक्ने तर्क गर्दै सिटौलाले सरकार नागरिकको हुनुपर्ने विचार राखे । उनले अधिकार विहीन जनता बनाएर समृद्धिका कुरा गर्नुृ हावादारी गफभन्दा अर्को हुन नसक्ने ठोकुवा समेत गरेका छन् ।
Comments