Sajhamanch Archive

सहकारी मन्त्री अर्यालले काठमाडौंमा उद्घाटन गरिन् केन्द्रीय सहकारी बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

काठमाडौं । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज एक कार्यक्रमकाबीच उक्त बजारको उद्घाटन गरेकी हुन् ।

मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित छ ।

केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताइन् । अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको प्रष्ट पारिन् ।

‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो । यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो’ मन्त्री अर्यालको भनाई छ । ‘सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्नका निम्ति यस्तो कार्यक्रम सञ्चालन गरिएको’ मन्त्री अर्यालको भनाई छ ।

उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्यालले यसलाई अझ बिस्तार गरिने बताइन् । किसानले उत्पादन गरेको सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

‘किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दूध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगति हुँदैन । किसानहरुलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ’ मन्त्री अर्यालको धारणा छ ।

यस्ता बजारहरु सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरुले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई थियो । ‘सहकारीसँग प्रसस्त पैसा छ । उनीहरुसँग पैसाको कमी छैन । सहकारीबाट उत्पादित सामग्रीहरुको बजार व्यवस्थापनका निम्ति बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरुले पनि लगानी गर्नुपर्छ’ सहकारी मन्त्री अर्यालको सुझाव छ ।

किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा बीचमा रहेका विचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उनले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ति पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताइन् । मन्त्री अर्यालले ‘सहकारी बजारमा रहेको बिचौलिया घटाउने । किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रुपमा सरकारले कार्यक्रम अगाडि बढाएको हो । यसले किसानहरु बढी लाभान्वित हुन्छन्’ भनेकी छन् ।

जागिरे मानसिकता छाडेर व्यवसायिक मानसिकताको विकास मुलुकको समृद्धिसँग जोडिएको भन्दै उनले प्राकृतिक स्रोत र मानव स्रोतको समिश्रणबाट नै समृद्धि सम्भव भएको बताइन् । सहकारी बजारले बढीभन्दा बढी अग्र्यानिक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले तरकारी, फलफूलमा प्रयोग भएका विषादीको परीक्षण गर्ने प्रविधिको पनि प्रयोग गर्न आवश्यक रहेको औंल्याइन् ।

बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरु मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यवसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने पनि प्रष्ट पारेकी छन् । ‘अब संस्थाको संख्या मात्रै धेरै होइन । कम सहकारी संख्याका माध्यमबाट धेरैभन्दा धेरै काम गर्ने कुरामा जोड लिनुपर्छ’, मन्त्री अर्यालको जिकिर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *