Sajhamanch Archive

‘कसैले विभेदको महसुस गरेमा संविधान संशोधन’ : प्रधानमन्त्री ओली

Published: in राजनीति by .

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानमा कुनै क्षेत्र र समुदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार राखेका छन् ।

आज शनिबार २ नम्बर प्रदेशसभा बैठकलाई जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन् ।

प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको पनि उनले जानकारी दिएका छन् । जनताको आधारभूत आवश्यकता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको जिकिर पनि गरेका छन् ।

सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गरिसक्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्नेलगायतका योजना प्रधानमन्त्रीले सुनाए ।

उनले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिंचाइको व्यवस्था मिलाउने आश्वासन दिए । उनले तराईमा मल कारखाना खोल्ने पनि जानकारी दिए ।

विकासका लागि ठूला योजनाहरु बनाउनैपर्ने दोहोर्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’

नेपाल सरकारले लिएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को नारालाई भारत र चीनले पनि साथ दिएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

प्रधानमन्त्रीले कुनै पनि नेपाली नागरिकताविहीन हुन नसक्ने पनि प्रष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *