Sajhamanch Archive

हुलाकी राजमार्ग निर्माणबारे प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेको चासो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by .

विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने आशा पलाएको छ । ३४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको हो ।

हुलाकी सडकको कामबारे आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिँदा करिव ४८ प्रतिशत काम सम्पन्न भएको अवगत भएको हो । चालू आर्थिक वर्षमा पूलहरुको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने आयोजना प्रमुख पाण्डले जानकारी गराएका छन् । झापामा पर्ने ८ वटा पूल, मोरङको रतुवामाईको पूल निर्माणका लागि टेण्डरको प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुख पाण्डेले जानकारी दिएका हुन् ।

सामाजिक विकास मन्त्री घिमिरेसँग आयोजना प्रमुख पाण्डले भने, ‘रंगेली र विराटनगरमा सडकमा केही समस्या छ । रंगेलीको केही स्थानमा निर्माणको डिजाइन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या छ । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन सकेको छैन ।’

आयोजना प्रमुख पाण्डेका कुरा सुनिसके पछि सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए । उनले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने आश्वासन दिँदै हुलाकी सडकको चर्चा धेरै भएपनि काम नदेखिएको तर्क गरे । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने मन्त्री घिमिरेको भनाइ छ ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ सुनसरीका पूलको अवस्थाका बारेमा जानकारी लिएका छन् । ज्ञवालीले चालु आर्थिक वर्ष भित्रमा करिव १० वटा पूल निर्माण सम्पन्नको चरणमा रहेको अवगत गराए । पूल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको ज्ञवालीको गुनासो छ ।

सडक निर्माण भएपनि पूल निर्माण सम्पन्न नहुँदा समस्या भएका पूलहरुको निर्माण भइरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *