विराट–अर्जुन उपभोक्ता सहकारीमा साधारणसभा प्रक्रिया सुरु
Published:
by .बिर्तामोड । यहाँस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आजदेखि आफ्नो ११औं वार्षिक साधारणसभाको प्रक्रिया शुरु गरेको छ । पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै साधारणसभाको सुरुवात गरिएको हो ।
संस्थाको संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गोपाल काफ्ले, अध्यक्ष नवराज खरेल, उपाध्यक्ष यादवकुमार ओली र सचिव डिल्लीराम प्रसाईंले प्रतिवेदन अनावरण गरेका हुन् ।
प्रतिवेदन सार्वजनिक पछि अध्यक्ष खरेलले सञ्चालक समितिको तर्फबाट तयार गरिएको प्रतिवेदनका मूलभूत बुँदाहरु प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकालाई कार्यक्षेत्र बनाएको सो संस्थामा दुई हजार ८४ जना शेयर सदस्य छन् भने एक करोड ८३ हजार ९०० रुपैयाँको शेयर पूँजी रहेको छ ।
संस्थामा सदस्यहरुले जम्मा गरेको एक करोड ८३ लाख ४३ हजार निक्षेप मौज्दात रहेको छ भने तीन करोड ८ लाख २२ हजार रुपैयाँ सदस्यहरुमाझ कर्जा रहेको प्रतिवेदनमा उल्लेख छ ।
बिर्तामोड नगरपालिकाको एकमात्र उपभोक्ता सहकारी संस्था विराट–अर्जुनमा सहकारी संस्था तथा सहकारीमा आवद्ध सदस्यहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरुको कारोबार गरी नमूनायोग्य प्रयास गरिरहेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ओलीले जानकारी गराए ।
संस्थाको साधारणसभा यही पुष १५ गते गर्ने मिति तय भएको छ । संस्थामा यो वर्ष नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेकाले बिर्तामोड नगरपालिकाका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको जानकारी दिइएको छ ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा सचिव प्रसाईंले सञ्चालन गरेको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले स्वर्गीय आमा नरमाया खरेलको स्मृतिमा ५० हजार रुपैयाँको शिक्षाकोष स्थापनाको घोषणा गरेका छन् ।
सरकारी विद्यालयमा अध्ययन गर्ने असहाय बालबालिकालाई शिक्षामा उत्प्रेरित गर्न हरेक वर्ष पाँच जनालाई शैक्षिक सामग्री प्रदान गर्ने अवधारणाका साथ शिक्षाकोष स्थापना गरेको अध्यक्ष खरेलले जानकारी गराएका छन् ।
Comments