सहारा नेपाल पूर्वको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी संस्थाः राज्यमन्त्री राना
Published:
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा नयाँ केन्द्रीय भवन बिर्तामोड २ चारपानेमा आज सम्पन्न भएको छ ।
प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन पछि मन्तब्य राख्दै उनले सहारा नेपाल पूर्वको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी संस्था रहेको जिकिर गरे । कोरोना संक्रमण भएको बेला होस् या जस्तोसुकै अवस्थामा पनि संस्थाले खेलेको भूमिकालाई सरकारले पनि कदर गर्नुपर्ने बताए ।
राज्यमन्त्री रानाले सहाराले सामाजिक क्षेत्रका साथसाथै आफ्ना सदस्यहरुलाई कृषि क्षेत्रमा पनि अझै सहुलियतमा ऋण उपलब्ध गराएर युवाहरुलाई रोजगारी सिर्जना गरे पक्कै पनि सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुने बताए ।
साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ९ अर्ब ७६ करोड ७९ लाख ६१ हजार ३०७ रुपैयाँको वासलात बनाएको उल्लेख छ । एक लाख ४३ हजार ९८३ जना शेयर सदस्य रहेको संस्थको हालको शेयर पूँजी १ अर्ब ३४ करोड ९१ लाख ९८ हजार ९०० रहेको छ ।
साधारणसभामा संस्थाको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको कोभिड सहायता कार्यक्रम अन्तर्गत शेयर सदस्यमा कोभिड पोजिटिभ देखिए घरमै वा आइसोलेशनमा बस्नुपर्ने भए १४ दिनसम्म दैनिक ५०० रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउने सम्बन्धी प्रस्ताव टेवल गरेका छन् ।
कोरोना महामारी बढ्दै गएकोले शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै २५ बेडको आइसोलेशन राख्न पहल गरिएको समेत गिरीले बताए । सहाराले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रम अन्तरगत सिनियर सिटिजन केयर, वेलनेस सेन्टर स्थापना र अनलाइन फार्मेसी सेवा थप गरी सञ्चालन गर्ने तयारी भएको उनले बताए ।
सहारा नेपालले आफ्नो कार्यक्षेत्र थप ५ जिल्लामा बिस्तार पनि गरेको जनाइएको छ । ताप्लेजुङ, तेह्रथुम, खोटाङ, धनकुटा र ओखलढुङ्गा जिल्लाका २–२ वटा पालिकामा संस्थाको कार्यक्षेत्र विस्तार गरिएको हो । योभन्दा पहिले झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई संस्थाले कार्यक्षेत्र बनाएको थियो । चालू वर्षदेखि संस्थाको कार्यक्षेत्र ११ जिल्लाका ८० वटा पालिकामा पुगेको छ । आगामी वर्ष प्रदेशका सवै जिल्लामा कार्यक्षेत्र बिस्तार गर्ने संस्थाको लक्ष्य रहेको बताइएको छ ।
संस्थाको वित्तीय अवस्था अत्यन्तै मजबुद रहेको बताउँदै उनले संस्थाको शेयर पूँजी एक अर्ब ३४ करोड ९१ लाख, जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचततर्फ ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पत्तीतर्फ ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रहेको जानकारी दिए ।
कोरोना कहरले वित्त बजारमा आएको शिथिलताका बीचमा पनि सहाराले २५ करोड ९ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको कार्यकारी प्रमुख गिरीले जानकारी गराएका छन् ।
कोरोना महामारीको त्रासमा सरकारले गरेको लामो लकडाउन तथा वित्तीय कारोबारमा आएको गिरावटका कारण सदस्यहरुमा परेको संकटलाई टार्न सहाराले शेयर सदस्यहरुलाई सहयोग र कर्जामा ब्याज मिनाहन गरेको जनाइएको छ ।
कोभिडका कारण ब्यापार व्यवसाय चलाउन गाह्रो भएर साँवा व्याज तिर्न नसकेको अवस्थामा कुनै पनि हर्जना जरिवाना नलिइएको, असार मसान्तसम्म ऋणमा पाकेको ब्याजको १० प्रतिशत ब्याज मिनाहा गर्दा ३ करोड ४५ लाख छुट दिएको समेत जानकारी गराएका छन् ।
साधारणसभाको अवसरमा संस्थाले २५ हजार रुपैयाँको सहारा सहकारी पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका झापा सम्वाददाता तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव इन्द्रजीत मुखियालाई प्रदान गरिएको छ ।
सो कार्यक्रममा प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला लगायतले आ–आफना धारणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष उप्रेन्द्रप्रसाद ओलीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य शुक्रबहादुर तामाङ र चित्रकला ओलीले संयुक्त रुपमा गरेका थिए ।
Comments