Sajhamanch Archive

‘तपाईं ढुक्क हुनुहोस्, एउटै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता पूर्णतः अन्त्य गरिनेछ’ : सहकारी अधिकृत दाहाल

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज सोमबार सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका सामाजिक तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न गरिएको हो ।

अध्यक्ष पौडेलले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित बजेट साधारणसभामा प्रस्तुत गरेका थिए । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले आफ्नो संस्था उमेरसँगै क्रमशः परिपक्क हुँदै गएको बताए । संस्थाका शेयर धनीहरुको आर्थिक, सामाजिक एवम् सांस्कृतिक आवश्यकतालाई स्रोत र साधनको अधिकतम् परिचालन गरी सहकारी संस्कारको विकासमा लाग्ने पनि अध्यक्ष पौडेलले विश्वास दिलाएका छन् ।

धौलागिरी पारिजातले सदस्यको वित्तीय आवश्यकता पूरा गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्नेतर्फ पनि रचनात्मक प्रयासको घोषणा गरेको छ । जसअनुसार संस्थाका ज्येष्ठ सदस्यहरुलाई वार्षिक ३ हजार भत्ता उपलब्ध गराउने, सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री प्रदान गर्ने, कर्मचारीको सामुहिक दूर्घटना बीमा गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

सदस्यको योगदानमा आधारित विपद कोष स्थापना गर्ने, बचत कार्यक्रमलाई विशेष योजनाका साथ अगाडि बढाउने, संस्थाका कुशल कर्मचारीहरुलाई पुरस्कृत गर्नेजस्ता विविध योजनाहरु पनि साधारण सभाबाट पारित भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित बजेट प्रस्तुत गर्दै अध्यक्ष पौडेलले ३० लाख शेयरपूँजी वृद्धि गर्ने, निक्षेपमा १५ करोड वृद्धि गर्ने, कर्जा लगानी २१ करोड पुर्याउने, ५ वटा सम्पर्क कार्यालय बिस्तार गर्ने, २ वटा सहकारी पसल सञ्चालन गर्ने योजना प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षमा संस्थाले ४१ लाख ६ हजार ४६३ रुपैयाँ खुद मुनाफा गरेकोमा चालू वर्ष ५३ लाख २३ हजार पुर्याउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना कहरलाई मध्यनजर गरी प्रतिनिधि मुलकरुपमा गरिएको साधारण सभाका प्रमुख अतिथि सहकारी अधिकृत दाहालले बिर्तामोड क्षेत्रका सहकारीमा भाखा नाघेको ऋण बढ्दै गएको पाइएकाले संस्थाले नाम उल्लेख गरेर नगरलाई पत्राचार गरे ऐनअनुसार कालोसूचिमा राखिने दोहोर्याए । बिर्तामोड नगरपालिकाको सहकारी ऐनमा नै समयमा ऋण बुझाउन नचाहने ऋणिलाई कालो सूचिमा राख्ने व्यवस्था रहेकाले भाखा नाघेको कर्जा उठेन भने पत्राचार गर्न उनको सुझाव छ ।

सहकारी अधिकृत दाहालले यही पुष १ गतेदेखि कोपोमिस कार्यान्वयन गराउन सहकारी विभागबाट आफूलाई निर्देशन भइसकेकाले ‘एक व्यक्ति एक प्रकृतिको सहकारी’को अवधारणाले पूर्णता पाउने बताए । उनले भने ‘तपाईं ढुक्क हुनुहोस्, अब एउटै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता पूर्णतः अन्त्य गरिनेछ र भाखा भित्रै कर्जा नतिर्ने ऋणिहरुको नामावली नगरपालिकाको ऐनअनुसार कालोसूचिमा राखिनेछ ।’

सहकारी संस्थाहरुको कारोबार दर्ताको प्रकृतिको आधारमा ७० प्रतिशत हुनैपर्ने प्रावधान रहेकाले धौलागिरी पारिजात लगायत बहुउद्देश्यीय सहकारीले अब ३० प्रतिशतमात्र बचत ऋणको कारोबार गर्नुपर्ने उनले सुझाए । जिल्लाको उत्कृष्ट १२ को सूचिमा पर्न सफल भएको धौलागिरी सहकारीलाई बधाई दिँदै सहकारी अधिकृत दाहालले वासलातसँगै नाफा पनि बढेकोमा कारोबारी सदस्यलाई धन्यवाद दिए ।

संस्थाका सचिव किशोर भट्टराईले सञ्चालन गरेको साधारणसभामा सिइओ युवराज ढकालले आमन्त्रित अतिथि एवम् शेयर सदस्यहरुलाई स्वागत गर्दै साधारणको औचित्य एवम् प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

साधारणसभाको उद्घाटन समारोहमा संस्थाका पूर्व सञ्चालक तथा हल्दिबारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले सहकारीबाट ऋण लगानी गर्दा ऋणिको उद्देश्य पहिचान गरेरमात्र कार्यान्वयन गर्न सुझाव दिए । ऋण लगानी गर्नुपूर्व उनीहरुको उद्देश्य पहिचान गर्न नसक्दा सहकारीकै कारण धेरै परिवारको बिचल्ली बनेकोले तिनको जीवनस्तर उठ्छ भन्ने लाग्यो भनेमात्र कर्जा प्रवाह गर्नु उपयुक्त हुने सापकोटाको सुझाव छ ।

संस्थाका शेयर सदस्य कृष्णप्रसाद ठाकुरलाई असल बचतकर्ताका रुपमा नगद पुरस्कारसहित प्रशंशापत्र प्रदान गरिएको साधारण सभामा पत्रकार गणेश पोखरेलले धौलागिरी सहकारीले कोरोनाको कहरमा पनि निरन्तर वित्तीय सेवा प्रवाह गर्न सकेकोमा आभार प्रकट गरे । सामाजिक क्षेत्रमा पनि सहकारीहरुले उल्लेख्य योगदान गरिरहेकाले ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिने धौलागिरीको प्रस्ताव सराहनीय रहेको पोखरेलले जिकिर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *