Sajhamanch Archive

हुण्डाइ क्रेटा गाडीको ढोका डेढ वर्षमै कुहिन थाल्यो, रंग उक्कियो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड, १ पुस । हुण्डाइको गाडी किनेका ग्राहकको हात अहिले स्टेरिङ होइन, पुर्पुरोमा पुगेको छ । किनेको डेढ वर्षमै गाडीको ढोका कुहिन थाल्नुका साथै रंग पनि उक्किन थालेपछि उनीहरुको हात पुर्पुरोमा पुगेको हो ।

बिर्तामोडमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै हुण्डाइ गाडी पीडितहरुले आफ्नो दुखेसो पोखे । बिर्तामोडको शोरुमबाट तीन वर्षअघि गाडी किनेका फडिन्द्र तिम्सिना अहिले समस्यामा परेका छन् । “गाडीको ढोका कुहिन थाल्यो, रंग उक्किँदैछ”, उनले भने, “शोरुममा कुरा राख्दा सुनुवाइ भएन ।”

शोरुमवालाहरुले जहाँ गए पनि जानुस्, जे गरे पनि गर्नुस् भन्ने गरेको पीडितहरुको भनाइ छ । गाडी किनेको डेढ वर्ष समस्या आएपछि शोरुममा जानकारी गराएको तिम्सिना बताउँछन् । “अहिले तीन वर्ष भइसक्यो”, उनले भने, “समस्यामा परेका छौँ ।” उनले किनको गाडी हुण्डाइको क्रेटा हो । जसको मूल्य ५१ लाख रुपैयाँ पर्छ ।

तिम्सिनाजस्तै, अशोक चौधरीले पनि हुण्डाइ कम्पनीको क्रेटा गाडी किनेको डेढ वर्ष बित्यो । उनको गाडीको पनि ढोका कुहिन थालेको छ । आफूले शोरुममा कुरा राख्दा टालटुल गरेको उनले सुनाए । “उहाँले ९फडिन्द्र तिम्सिना० फेसबुकमा स्टाटस लेखेपछि मैले पनि गाडी फल्ड रहेछ भन्ने थाहा पाएँ”, उनले भने, “शुरुमा त मेरो मात्र यस्तो समस्या होला भन्ने लाग्यो, तर अरु धेरै जनाको समस्या त्यस्तै रहेछ ।

फडिन्द्र, अशोक जस्तै सिंहबहादुर सिंहको गाडीमा समेत त्यस्तै समस्या भएको पत्ररकार सम्मेलनमा जानकारी दिइयो । शोरुमबाट नयाँ भनेर किनेको गाडी नै सेकेन्ड ह्याड हुन सक्ने पीडितहरुको आशंका छ । उनीहरुले कम्पनीले समस्या देखिएका गाडीहरु तुरुन्त चेन्ज गरेर नयाँ दिनुपर्ने माग गरेका छन् ।

वर्षाका बेला कहाँबाट पानी पसेर गाडीको सिट भिज्ने गरेको पीडितहरुको भनाइ छ । एउटा गाडी किन्ने मानिसको सपना हुन्छ । त्यसमा पनि जीवनभर रगत पसिना बगाएर किनेको गाडी कुहिनु आफैँमा दुःखद् कुरा हो । गाडी बिक्रेताहरुले नाफा मात्र नभई सेवा पनि प्राथमिकता दिएर ग्राहकहरुको समस्याको समाधान यथासक्य चाँडो गर्न आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *