Sajhamanch Archive

बिन्ति साकोस मेचीनगरको नेतृत्व चयन पुष २५ मा गरिने

Published: in सहकारी by .

मेचीनगर । मेचीनगर–८ स्थित खडियाबस्तीमा रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै झापा जिल्ला सहकारी संघका सञ्चालक दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको बताए । सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका खेल्नुपर्ने सापकोटाको कथन छ ।

सरकारले सहकारीमार्फत गरिबीको रेखामुनि रहेका आम मानिसहरुको जीवनस्तर रुपान्तरणका लागि उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने ढंगबाट सहकारीहरुको व्यवस्थापन र सञ्चालनको नीति अंगिकार गर्नुपर्नेमा सापकोटाको जोड थियो । नागरिकहरुका लागि नागरिकहरुद्वारा नै सञ्चालन हुने सहकारी नीतिलाई आत्मसाथ गर्दै सहकारीलाई उत्पादन, रोजगारी र विकाससँग जोड्नुपर्ने सहकारी अभियन्ता सापकोटाले बताएका छन् ।

कार्यक्रममा मेचीनगर ५ का वडाध्यक्ष योगेन्द्र थापा मगर र महेन्द्रद्वार सहकारी संस्थाको अध्यक्ष राजकुमार दाहाल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका सचिव केशव तिम्सिना, शिक्षासेवी देवनारायण सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष दशरथ खडियाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक पाष्टर दशरथ खडियाले संस्थाको लेखा प्रतिवदन प्रस्तुत गरेका थिए ।

शनिबार सम्पन्न साधारणसभाले यही पुष २५ गते भित्रमा संस्थाको नयाँ सञ्चालक समिति चयन गर्न राजेन्द्र राईको संयोजकत्वमा प्रतिक उराउ र देवनारायण सिटौला सदस्य हरने गरी तीन सदस्यीय निर्वाचन समिति पनि चयन गरेको छ ।

२९ जना शेयर सदस्यबाट प्रतिब्यक्ति एक हजारका दरले रकम संकलन गरी २०६५ सालमा स्थापना भएको सो सहकारी संस्थाले चिया मजदूर, न्यून आय भएका बिपन्न तथा पिछडिएका समुदायलाई समेटेर उनीहरुको आर्थिक सक्रियतामा रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा सेयर पूँजी २१ लाख ३४ हजार १५० रुपैयाँ पुर्याएको छ । सो अवधिमा १ करोड १७ लाख ६० हजार २१३ रुपैयाँ बचत संकलन गरी ८६ लाख कर्जा प्रवाह गरेको जनाएको छ । संस्थाको कूल कारोबार एक करोड ४५ लाख ५४ हजार २३१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत संस्थाका व्यवस्थापक आरती उराउ र सञ्चालन संस्थाको संञ्चालक समिति सदस्य विकास देवकोटाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *