मातृ भाग्यरेखा साकोसले सुत्केरी र ज्येष्ठ सदस्यलाई भत्ता दिने
Published:
by .बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिडको कहरमा पनि संस्थाले सदस्यहरुलाई १० प्रतिशत सेयर बोनस दिन सफल भएको बताए ।
विगतका वर्षहरुमा झैं लक्षित उपलब्धी हासिल नभए पनि सदस्यहरुको लगानीमा उचित प्रतिफल प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाको सेयर पूँजीमा ८ प्रतिशत वृद्धि गरी २ करोड १५ लाख ५० हजार पुर्याइको छ भने चालु वर्ष २ करोड ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको अध्यक्ष दाहालले सुनाए ।
समीक्षा वर्षमा संस्थाको निक्षेप १२ करोड २० लाख हाराहारी रहेकोमा चालु वर्ष सो अंकमा वृद्धि गरी १५ करोड पुर्याउने अनुमान छ । यसरी नै कर्जा लगानी तर्फ थप ४ करोड वृद्धि गर्ने र कोषमा ४० लाख रुपैयाँ पुर्याउने योजना सुनाइएको छ ।
मातृ भाग्यरेखा साकोसले चालु वर्षदेखि सामाजिक क्षेत्रमा सहयोग बढाउने योजना अघि सारेको छ । जसअनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ शेयर सदस्यहरुलाई वार्षिक २५ सय रुपैयाँ भत्ता दिने, सुत्केरी पोषण खर्च बापत ७५ सय रुपैयाँ प्रदान गर्ने नीति पारित गरिएको छ ।
साधारणसभामा मन्तव्य राख्दै सहकारी अधिकृत दाहालले सहकारीले बचत र ऋणको मात्र कारोबार नगरी उत्पादन र बजारीकरणलाई जोड्न आग्रह गरे । सहकारीले नेपालको कूल ग्रार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्र योगदान गरेको भनिए पनि ५ प्रतिशतभन्दा धेरै रहेको उनको जिकिर छ ।
साधारणसभामा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, नारी सञ्चार गृह झापाका अध्यक्ष भिमा सिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा उपस्थित शेयर सदस्य तथा आमन्त्रितहरुलाई लेखा संयोजक टंकप्रसाद दवाडीले शब्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव गणेश सिवाकोटीले गरेका थिए ।
Comments