गरामनी कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पुनः चापागाईं
Published:
by .बिर्तामोड । झापाको बिर्ताबजारस्थित गरामनी कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले ताराप्रसाद चापागाईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
सहकारीकर्मी राधाकृष्ण अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले चापागाईको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र पदमप्रसाद बाँस्कोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।
साधारणसभाको अवसरमा निर्वाचन समितिका संयोजक अधिकारीले नयाँ सञ्चालकहरुको नाम घोषण गर्दै सपथ ग्रहणसहित निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । जस अनुसार उपाध्यक्षमा पार्वती काफ्लेले निरन्तरता पाएकी छन् भने सचिवमा गोपाल सिटौलालाई ल्याइएको छ ।
संस्थाको सञ्चालक समिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, मेनुका राई, युवराज चापागाई र पूजा आपगाईले निरन्तरता पाएका छन् । नयाँ सञ्चालक समितिमा काँशीनाथ उप्रेती र विरबल राजवंशी थपिएका छन् ।
तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा पदमप्रसाद बाँस्कोटा र सदस्यमा प्रेम चिमरियाले निरन्तरता पाएका छन् भने सदस्यमा गोपालप्रसाद घिमिरे चयन भएका छन् ।
निर्वाचित सबैलाई साधारणसभाका प्रमुख अतिथि तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सपथ ग्रहण गराएका थिए भने निर्वाचन संयोजक अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चापागाईले आफ्ना सदस्यहरुलाई कर्जा लगानी गर्दा कृषिमा प्राथमिकता दिई सरल ब्याज लिइने तथा सिंचाईका लागि सदस्यहरुलाई समूह बनाएर अनुदान दिइने गरेको बताए । कोभिडको कहरमा पनि आफ्नो सहकारीले आ.व. २०७६÷०७७ मा ४ लाख ७८ हजार ५०० रुपैयाँ भन्दा बढी मुनाफा गरेको जानकारी दिँदै अध्यक्ष चापागाईंले चालू वर्षमा २१ लाख भन्दा बढी नाफा गर्ने लक्ष्य सुनाए ।
संस्थाको शेयर पूँजी एक करोड १७ लाख ३८ हजार रहेको छ भने शेयर सदस्य संख्या एक हजार ७७८ जना पुर्याइएको छ । चालू वर्ष शेयर पूँजी दुई करोड पुर्याउने लक्ष्य छ । यसैगरी एक करोड ९१ लाख ११ हजार रुपैयाँ निक्षेप रहेकोमा चालू वर्ष सो अंकमा वृद्धि गरी ५ करोड पुर्याउने लक्ष्य लिइएको छ । यसरी नै कर्जा लगानी तर्फ तीन करोड ६९ लाखबाट बृद्धि गरी ९ करोड १८ लाख पुर्याउने तथा कोषमा ३० लाख रुपैयाँ पुर्याउने योजना सुनाइएको छ ।
साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका सचिव ढकालले मृतप्रायः बनेको संस्थालाई पुनःजीवन दिई आजको अवस्थामा ल्याउन क्रियाशील सबै सञ्चालकहरुलाई बधाई दिए । उनले हरेक सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणलाई जोड्न सक्नुपर्ने आग्रह गरे ।
कृषि सहकारी संस्था भएकाले कृषि क्षेत्रमा काम गर्न र लगानी बढाउनु सुझव दिँदै सचिव ढकालले संस्थालाई अगाडि बढाउन मनमिल्ने सहकारीहरु बीच एकीकरण गर्ने अवसरको सदुपयोग गर्न सकिने पनि बताए ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक राधाकृष्ण अधिकारी र सदस्य डिबी कार्कीले नयाँ नेतृत्वलाई कार्यसफलताको शुभकामना व्यक्त गर्दै गरामनी कृषि सहकारीको प्रगतिको कामना गरेका थिए ।
संस्थाका लेखापाल मनिता घिमिरेले सञ्चालन गरेको उक्त साधारणसभा समारोहमा उपस्थित अतिथि तथा संस्था परिवारका सदस्यहरुलाई लेखा समितिका संयोजक पदमप्रसाद बाँस्कोटाले शव्दद्वारा स्वागत गरेका थिए ।
Comments