कोरोना बीमा भुक्तानी थाल्यो हाम्रो नेपाल साकोसले
Published: (Updated: )
by .झापा । झापाको बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कोरोना बीमा वापतको एक लाख रुपैयाँ प्रदान गरेको छ । संस्थाका संस्थापक शेयर सदस्य दिलेन्द्रकुमार कार्कीलाई उनकै घर गरामनीमा पुगेर हाम्रो नेपालको टिमले कोरोना बीमा वापत प्राप्त चेक हस्तान्तरण गरेका हुन ।
झापा सहकारी अभियानको तथ्याङ्गकमा सहकारी मार्फत गरिएको कोरोना बीमाको भुक्तानी पाउने कार्की पहिलो भाग्यमानी सदस्य हुन् । हामो नेपालको साकोसले करिब दुई हजार ५०० सदस्यको कोरोना सम्बन्धी बीमा गरिदिएर उदाहरणीय प्रयास गरेको थियो ।
साकोसका अध्यक्ष भवानीप्रसाद दंगाल, उपाध्यक्ष पृथ्वी ओली, लेखा समिति संयोजक कृष्णराज कटुवालसहितको नेतृत्वले कोरोना बीमा वापतको एक लाख रुपैयाँको चेक आज कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाका अध्यक्ष दंगालले बीमा वापतको चेक हस्तान्तरण गर्दै संस्थाले आफ्नै पहलमा नियमित कारोबारी सदस्यहरुको कोरोना बीमाको प्रिमियम तिरिदिएको बताउँदै संक्रमितहरुका लागि प्राप्त बीमा दाबी आजबाट भुक्तानीसमेत हुन थालेको बताए । उनले कोरोना संक्रमित अन्य सदस्यहरुको समेत बीमा दावी भुक्तानी भएपछि घरघरमै ल्याएर हस्तान्तरण गरिने बताए ।
बीमा वापत प्राप्त रकमको चेक ग्रहण गर्दै संस्थाका सदस्य कार्कीले आफ्ना सदस्यहरुलाई दुःख परेको बेला संस्थाले दिएको मायाप्रति सराहना व्यक्त गरे । कोरोना बीमा वापत प्राप्त रकमले उपचारमा लागेको खर्च भरपाई गर्न तथा पोषिलो खानेकुरामा खर्च गर्ने उनको भनाई छ ।
Comments