समृद्धि र सनसाइन साकोस एकीकरणको संघारमा, वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक
Published: (Updated: )
by .भद्रपुर । झापाको भद्रपुरस्थित समृद्धि वचत तथा ऋण सहकारी संस्थाले आ. व. २०७६/०७७ को वार्षिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ । योसँगै संस्थाको जारी साधारणसभा पनि सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा संस्थाका सञ्चालक, सेवा केन्द्रका सञ्चालक र कर्मचारीको उपस्थिति थियो ।
संस्थाले यसअघि नै प्रतिवेदन सेवा केन्द्रमार्फत सदस्यको हात–हातमा पुर्याइसकेको र राय–सुझाव संकलन गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिए । संस्थाका सचिव तीर्थराज ओझाले सञ्चालन गरेको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार संस्थाले आ. व. २०७६/०७७ मा ३ लाख ४१ हजार ७३९ रुपैयाँ खुद मुनाफा गरेको छ ।
विश्वव्यापी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्थाले अघिल्लो वर्षको तुलनामा दोब्बर नाफा कमाउन सफल भएको छ । प्रतिवेदन अनुसार संस्थाको कूल शेयरपूँजी ९२ लाख ६४ हजार ५०० रुपैयाँ पुगेको छ भने २०७६/०७७ मा ३ करोड ८८ लाख ७० हजार ५११ रुपैयाँ निक्षेप संकलन र ३ करोड ७३ लाख ११ हजार २०४ रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा शेयरपूँजी, निक्षेप संकलन र लगानी पनि उल्लेख्य बढेको तथा सदस्य संख्या बढेर २९४१ पुगेको छ ।
नगरप्रमुख श्रेष्ठले कोरोनाको त्रासका बीच पनि समृद्धिले सन्तोषजनक कारोबार गरेको सदस्यका वित्तीय तथा सामाजिक आवश्यकताहरु पूरा गरेको भन्दै संस्थाको प्रशंसा गरे । उनले उस्तै प्रकृतिका सहकारीबीच एकीकरणमा पनि जोड दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, नगरपालिकाका सहकारी अधिकृत डिल्ली ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष पौडेलले कोरोना महामारीलाई समेत दृष्टिगत गरी २०७७/०७८ को कार्ययोजना बनाएको र समृद्धिले भद्रपुर १० को सनसाइन वचत तथा ऋण सहकारी संस्थासँग एकीकरणको प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।
Comments