Sajhamanch Archive

निजी खर्चमा जनप्रतिनिधिले बनाइदिए पक्की घर

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

दमक । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।

बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण गरेको हो ।

उनले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यसमेत शारीरिकरूपमा अशक्त रहेकाले सहाराविहीन अवस्था महसुस गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाको ‘कोही एक्लो छैन’ भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताए ।

लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०/११ धुर जमिनमा जनप्रतिनिधिहरुको चार लाख १५ हजार रुपैयाँको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले ६५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले बताए ।

पाँचथर पुख्र्यौली घर भएका लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको हो । वृद्धाका पति भीमनारायण स–साना छोराछोरी काखमा हुँदै बिते । तीन छोरामध्ये जेठो छोरा अघनबहादुर लामो समयदेखि रोजगारीका लागि भारततिर घर छोडेर हिँडेका छन् । बुबाको निधनपछि दुःखमा परेको परिवारको भविष्यका लागि भनेर भारततिर पसेका उनी अहिलेसम्म घर फर्किएका छैनन् । “मर्यो, बाँच्यो, कहाँ, छ, छैन अहिलेसम्म खोजखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन्”, विलौना गर्दै वृद्धा धनमायाले भनिन् ।

 सरकारले दिने सामाजिक सुरक्षा भत्ताको माध्यमबाट नै छ जनाको परिवारको गुजारा चलाउनु पर्ने बाध्यता रहेको पीडित परिवारको दुःखेसो छ ।

कुनै आयस्रोत नभएका लामिछानेको परिवारको विपन्नता देखेर नै जनप्रतिनिधिहरुले स्वेच्छिकरूपमा गर्नुभएको कार्य अत्यन्तै प्रंशसनीय भएको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *