Sajhamanch Archive

जनकपुर-जयनगर रेल सेवाको भाडा निर्धारण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर -जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुने भएको छ ।

सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँ-ठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इन्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वामा रहेको नेपाली स्टेशनमा थन्क्याएर राखिएको छ । यसरी पटकपटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भएर रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताए ।

जनकपुरधाममा रहेको रेल्वे स्टेशन रोडमा ल्यापटप मर्मत पसल सञ्चालन गर्दै आएका उमेश महतोले भने ,रेल सेवा सुरु भएपछि भारतबाट रिपेयर पार्ट ल्याउन सजिलो हुने हिसाबले स्टेशन रोडमा एक वर्षअघि पसल राखे तर अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । पटकपटक तोकिएको मितिमा रेल सञ्चालन नभएसम्म विश्वास गर्न सकिँदैन ।

लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लो पटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यही माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गरे । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका भने छैनन् ।

महाप्रबन्धक भट्टराईका अनुसार आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

भट्टराईका अनुसार,प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जीटूजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्तरुप दिन यस प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।

त्यस्तै, रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको बताए ।

नेपालकातर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताउए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको जनाए । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनकारी दिए।

महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाकोसमेत मर्मतसम्भारको काम लगभग पूरा भइसकेको बताए ।रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको जनाए । महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० सम्म तोकिएको छ ।

प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको जानकारी दिए । महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिए । दुई वा दुईभन्दा बढी स्टेशनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने भट्टराईले बताए ।

अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले जनाए। जनकपुर–जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने बताए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *